बालयौन दुराचारी क्यानेडियाली नागरिक निष्कासित, नेपाल प्रवेशमा प्रतिबन्ध

IMG-20250709-WA0068

काठमाडौं: गृह मन्त्रालयले बाल यौन दुराचार (पेडो फाइल)मा संलग्न एक क्यानेडियाली नागरिकलाई निष्कासन गरेको छ। गृह मन्त्रालयले ७ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई क्यानेडियाली नागरिक पिटर जोनलाई निष्कासन गरेको हो। अध्यागमन विभागले जुन ३० मा क्याथेप्यासेफिक एयरको जहाजबाट पिटरलाई क्यानडा पठाएको हो।
बाल यौन दुराचारी प्रमाणित भएपछि पिटरलाई काभ्रेपलाञ्चोकस्थित कारागारमा राखिएको थियो। काभ्रेपलाञ्चोक जिल्ला अदालतले क्यानेडियाली नागरिक पिटरलाई बाल यौन दुराचारको मुद्दामा दोषी ठहर गर्दै २३ दिसंबर, २०१६ मा ९ वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने आदेश दिएको थियो।
कैद भुक्तान गरेपछि कारागार कार्यालय काभ्रेपलाञ्चोकले थप कारबाहीका लागि अध्यागमन विभागमा पठाएको थियो। अध्यागमन विभागले त्यसपछि निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो। पिटर संयुक्त राष्ट्रसंघको राहदानी प्रयोग गरी सन् २०१८ फेब्रुअरी ११ मा पर्यटक भिसामा नेपाल आएका थिए। सन २०१८ अप्रिल ७ मा बाल यौन दुराचारको अभियोगमा पिटर पक्राउ परेका थिए।
कैद भुक्तानी गर्ने क्रममा पिटरको राहदानीको म्याद गुज्रिसकेको थियो। अध्यागमन विभागले भारतको नयाँ दिल्लीमा रहेको क्यानडाको दूतावासलाई पत्राचार गरेपछि उसले पिटरलाई एकतर्फी यात्रा अनुमति गर्न ट्राभल डकुमेन्ट बनाइदिएको थियो। ट्राभल डकुमेन्ट र हवाई टिकट पेस गरेपछि पिटरलाई सात वर्ष नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाउँदै निष्कासन गरेको हो।
अध्यागमन विभागले पिटर ७ अप्रिल २०१८ देखि १ जुलाई २०२५ सम्म थुनामा रहेकाले त्यस अवधिको उनको भिसा निशुल्क नियमित गरिदिएको थियो।

About Author

Advertisement