बाघडुग्रा: दार्जिलिङ लोकसभा सांसद राजु विष्टलाई बाघडुग्रामा हाल सञ्चालन भइरहेको “गोर्खा सांस्कृतिक प्रदर्शनी एवं खाद्य उत्सव–२०२६” मा सहभागी भए। सांसद विष्टले सामाजिक संजालमा यसबारे उल्लेख गर्दै गोर्खा गौरव संस्थान, सिलगढ़ीको अगुवाइमा तथा विभिन्न सामाजिक संघ–संस्थाहरूको सहकार्यमा आयोजित यस गोर्खा मेलाले गोर्खा समुदायको समृद्ध संस्कृति, वेशभूषा, परम्परा, खानपान तथा रीति–रिवाजको भव्य प्रस्तुति गरेको व्यक्त गरे। साथै यस प्रदर्शनीले वर्तमान पुस्तालाई आफ्नै सांस्कृतिक विरासतप्रति गौरव गर्न प्रेरित गर्नुका साथै गोर्खा समुदायको जातीय पहिचान अन्य समुदायहरूसम्म पुर्याउने महत्वपूर्ण भूमिका खेलेको जनाए।
यसैगरी सांसदले उक्त मेला मार्फत गोर्खा समुदायको विशिष्ट इतिहास, मौलिक चिनारी र जीवित परम्पराहरूलाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको अनुभव गरे।
सांसदले कार्यक्रममा वक्ताहरूले संस्कृति केवल प्रदर्शनीको विषय मात्र नभई जीवनशैली, सोच, व्यवहार र आत्मसम्मानको द्योतक भएको उल्लेख गरे। संस्कृति नै कुनै पनि समुदायलाई जीवित राख्ने आधार भएको बताउँदै, आफ्ना रहन–सहन, रीति–थिति, आचार–व्यवहार र विचारलाई अझ परिष्कृत तथा समृद्ध बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याएको बारेमा संजालमा व्यक्त गरे।
सांसदले अझै अघि भने- नेपाल तथा भारत जस्तै बहुभाषी, बहुसांस्कृतिक र बहुपरम्परायुक्त समाजमा सबै समुदायको सांस्कृतिक विशिष्टताको समावेशी विकास मार्फत साझा संस्कृतिलाई सशक्त बनाउन सकिने धारणा व्यक्त गरियो। विविधतामा एकता नै हाम्रो समाज र देशको पहिचान भएको उल्लेख गर्दै, आजको युगमा एक–अर्काको विशिष्टतालाई सम्मान गर्दै सहकार्यका साथ अगाडि बढ्नुपर्नेमा जोड दिइयो।राजनीतिक विचारधाराभन्दा माथि उठेर संस्कृति, खानपान र जीवनशैलीले समाजलाई जोड्ने कार्य गर्ने उल्लेख गर्दै, यस्ता सांस्कृतिक आयोजनाहरूले समुदायलाई आफ्नो पहिचानप्रति गर्व गर्न र मौलिक अस्तित्वलाई संरक्षण गर्न महत्वपूर्ण योगदान पुर्याउने सहभागीहरूको भनाइ रहेको थियो।










