कोचबिहार: राज्यकी मुख्यमन्त्री ममता बनर्जी को पहलमा “बांग्लार युवा साथी” परियोजनाका लागि आवेदन प्रक्रिया दिनहाटा सहित कोचबिहार जिल्लाका विभिन्न ब्लकहरूमा सुरु भएको छ। आइतबार दिनहाटा शहरका विभिन्न वार्डका एक्काइसदेखि चालीस वर्ष उमेर समूहका बेरोजगार युवक–युवतीहरू नगरपालिकामा पुगेर सरकारी योजनाको लाभ लिन फाराम भरेका थिए।
यस अवसरमा नगरपालिकाकी अध्यक्ष अपर्णा दे नन्दी, उपाध्यक्ष सबिर साहा चौधरीसहित अन्य पार्षदहरूको उपस्थिति रहेको थियो। नगरपालिकामा शिविर सुरु भएसँगै युवा तृणमूलको तर्फबाट नजिकै सहयोग शिविर सञ्चालन गरी युवक–युवतीहरूलाई फाराम भर्न सहयोग गरिएको थियो।
युवा तृणमूलका शहर ब्लक अध्यक्ष पार्थ साहाले बताएअनुसार राज्य सरकारको यस योजनाको लाभ लिन शहरका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा युवक–युवतीहरू उत्साहका साथ शिविरमा पुगेका थिए। कार्यकर्ताहरूले उनीहरूलाई फाराम भर्न विभिन्न तरिकाले सहयोग गरेका थिए।
यता तुफानगञ्ज र कोचबिहारमा पनि युवा साथी योजनाअन्तर्गत आवेदन प्रक्रिया सुरु भएको छ। तुफानगञ्ज महकुमाका तीनवटा शिविरहरूमा कतिपय स्थानमा लामो लाइन देखिएको थियो। जानकारीअनुसार तुफानगञ्ज एक र दुई ब्लकका शिविरका साथै तुफानगञ्ज नगरपालिकामा पनि क्याम्प सञ्चालन गरिएको थियो। पहिलो दिनमै तीनवटै शिविरमा कुल दुई हजार दुई सय चालीस जनाले आवेदन दिएका छन्।
तुफानगञ्ज एक ब्लकको चिलाखाना घोगारकुटी निवासी मौमिता राय पनि योजनाको लाभ लिन आवेदन दिन पुगेकी थिइन्। उनले भनिन्, “स्नातक सकेपछि म बेरोजगार बसिरहेकी छु। राज्य सरकारले युवा साथी योजनाअन्तर्गत प्रतिमहिना पन्ध्र सय रुपैयाँ भत्ता दिने घोषणा गरेको छ। यो राम्रो कदम हो, तर हामी रोजगारीको पनि माग गर्छौं।”










