बलागढको डुङ्गा उद्योगलाई जीआई ट्याग दिलाउने पहल तीव्र

691666-boat-making-2

कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको नेतृत्वमा राज्य सरकारले हुगली जिल्लाको बलागढस्थित परम्परागत डुङ्गा निर्माण उद्योगलाई पुनर्जीवित गर्ने पहल तीव्र पारेको छ। शताब्दीयौँ पुरानो यस कुटीर उद्योगलाई नयाँ पहिचान दिलाउन भौगोलिक संकेतक (जीआई) ट्याग दिलाउने तयारी अघि बढाइएको छ।
स्रोतका अनुसार, कोलकाताको शिल्प सदनमा हालै बलागढका डुङ्गा कारीगरहरूसँग महत्वपूर्ण बैठक सम्पन्न भएको थियो। बैठकमा लघु तथा कुटीर उद्योग विभागका अधिकारी, हुगलीका महाप्रबन्धक सुमनाथ गंगोपाध्याय तथा नाव सहकारी समितिका प्रमुख संरक्षक एवं इतिहास अनुसन्धानकर्ता पार्थ चटर्जी सहभागी थिए। कारीगरहरूको समस्या, घट्दो आम्दानी, आधुनिक प्रतिस्पर्धा र सम्भावित विकास योजनाबारे विस्तृत छलफल गरिएको थियो।
बैठकमा सहकारी समितिलाई डुङ्गा निर्माण उपकरण खरिदका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिएको छ। आधुनिक काठ काट्ने मेसिन भित्र्याउने, बलागढमा ‘बोट हब’ स्थापना गर्ने तथा ‘विश्व बाङ्ला’ विपणन केन्द्रमा कारीगरहरूलाई स्टल उपलब्ध गराउने विषयमा समेत विचार गरिएको छ।
कोलकाताबाट करिब ११५ किलोमिटर टाढा हुगली नदी किनारमा अवस्थित बलागढ, विशेषगरी श्रीपुर क्षेत्र, करिब ५०० वर्ष पुरानो डुङ्गा निर्माण परम्पराका लागि प्रसिद्ध छ। मुगल दरबारका इतिहासकार अबुल फजलले समेत आफ्नो लेखनमा यहाँका कारीगरहरूको उल्लेख गरेका छन्। सरकारको यस पहलले स्थानीय कारीगरहरूमा नयाँ आशा जगाएको छ र सांस्कृतिक सम्पदाको संरक्षणतर्फ सकारात्मक संकेत दिएको छ।

About Author

Advertisement