नयाँ दिल्ली: भारतकी वित्त मन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२६–२७ को केन्द्रीय बजेट प्रस्तुत गर्दै विभिन्न सहरलाई जोड्ने सातवटा उच्चगतिको रेल कोरिडोर तथा पश्चिम बंगालको डानकुनीदेखि गुजरातको सूरतसम्म नयाँ डेडिकेटेड फ्रेट कोरिडोर निर्माणको प्रस्ताव गरेकी छन्।
लोकसभामा बजेट भाषण गर्दै उनले भनिन्, “पर्यावरणमैत्री यात्रु यातायात प्रणाली प्रवर्द्धन गर्न सहर–सहरलाई जोड्ने ‘ग्रोथ कनेक्टर’ का रूपमा सात उच्चगतिको रेल कोरिडोर विकास गरिनेछ।”
वित्त मन्त्रीका अनुसार प्रस्तावित रेल कोरिडोरहरू मुम्बई–पुणे, पुणे–हैदराबाद, हैदराबाद–बेङ्गलुरु, हैदराबाद–चेन्नई, चेन्नई–बेङ्गलुरु, दिल्ली–वाराणसी तथा वाराणसी–सिलिगुडी मार्गमा निर्माण गरिनेछन्।
माल ढुवानीका लागि दिगो र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्ने उद्देश्यले पूर्वी भारतको डानकुनीलाई पश्चिमी भारतको सूरतसँग जोड्ने नयाँ डेडिकेटेड फ्रेट कोरिडोर प्रस्ताव गरिएको छ।
हाल अहमदाबाद–मुम्बई उच्चगतिको रेल कोरिडोरको निर्माण कार्य जारी छ। त्यसैगरी, विभिन्न राज्य र जिल्लामा पूर्वी तथा पश्चिमी डेडिकेटेड फ्रेट कोरिडोरको काम पनि अघि बढिरहेको छ।










