कोलकाता: बंधन बैंकले वित्त वर्ष २०२५-२६ को तेस्रो त्रैमासिकको वित्तीय नतिजा सार्वजनिक गरेको छ। बैंकको कुल कारोबार ११% ले बढेर ३.०२ लाख करोड रुपैयाँ पुगेको छ। बैंकको कुल जम्मामा खुद्रा (रिटेल) खण्डको हिस्सेदारी हाल ७२% छ। तेस्रो त्रैमासिकमा देखिएको व्यवसायिक वृद्धिको मुख्य आधार बैंकको विस्तारित वितरण नेटवर्क, सुधारिएको सञ्चालन दक्षता र अनुकूल व्यवसायिक वातावरण रहेको छ।
बैंक हाल भारतका ३६ राज्य र केन्द्रशासित प्रदेशमध्ये ३५ राज्यमा ६,३५० भन्दा बढी बैंकिङ आउटलेटमार्फत लगभग ३.२५ करोड ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। बंधन बैंकमा कार्यरत कर्मचारीहरूको कुल संख्या ७४,५०० भन्दा बढी छ।
वित्त वर्ष ’२६ को तेस्रो त्रैमासिकमा, बैंकले आफ्नो जम्मा आधारमा वार्षिक रूपमा ११% को वृद्धि दर्ता गरेको छ र कुल जम्मा आधार अब १.५७ लाख करोड रुपैयाँमा पुगेको छ। सोही अवधिका लागि कुल अग्रिम (एडभान्स) १.४५ लाख करोड रुपैयाँ पुगेको छ। चालू खाता र बचत खाता (सीएएसए) अनुपात २७.३% रहेको छ। बैंकको पूँजी पर्याप्तता अनुपात (सीएआर) १७.८% मा बलियो बनेको छ, जुन नियामक सीमा भन्दा उल्लेखनीय रूपमा माथि छ।
बैंकका प्रबन्ध निर्देशक र मुख्य कार्यकारी, पार्थ प्रतिम सेनगुप्ता ले यस प्रदर्शनबारे भने, “अघिल्ला त्रैमासिकहरूसँग तुलना गर्दा बंधन बैंकको तेस्रो त्रैमासिक प्रदर्शनले आधारभूत तत्वहरूमा मजबूती र निरन्तर सुधारलाई देखाउँछ। चौथो त्रैमासिकमा, हामी ग्राहक अनुभव, सञ्चालन दक्षता र विस्तारयोग्यता बढाउन विभिन्न डिजिटल पहलहरूमा गति ल्याउन तयार छौं। हामी एक सशक्त, लचिलो र विविधीकृत बैंक निर्माणमा पूर्ण रूपमा प्रतिबद्ध छौं। यी प्रयासहरूले भविष्यमा सतत र लाभदायी विकासको लागि हामीलाई राम्रो अवस्थामा राख्नेछन्।
बैंकले आफ्नो सम्पत्ति आधारमा विविधता ल्याउन ध्यान दिइरहेको छ, जसमा खुद्रा पोर्टफोलियो बढाउनेमा रणनीतिक रूपमा जोड दिइएको छ। दक्षता र उत्पादकता बढाउनका साथै ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न डिजिटाइजेशनलाई प्राथमिकता दिइएको छ।









