ढाका: तारिक रहमान नेतृत्वको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) सरकारमा दुई अल्पसंख्यक समुदायका नेताहरूलाई मन्त्रिपरिषद्मा समावेश गरिएको छ। प्रधानमन्त्री तारिक रहमानले एक हिन्दू र एक बौद्ध नेतालाई मन्त्री नियुक्त गरेका हुन्।
हिन्दू समुदायका निताई रोय चौधरी र बौद्ध समुदायका दीपेन दीवानले मंगलबार क्याबिनेट मन्त्रीका रूपमा सपथ लिएका छन्। दुवै जना बीएनपीको टिकटमा निर्वाचित सांसद हुन् र पार्टीका वरिष्ठ नेतामध्ये पर्छन्। करिब १८ करोड जनसंख्या रहेको बंगलादेशमा करिब ८ प्रतिशत हिन्दू छन्, जो देशको सबैभन्दा ठूलो अल्पसंख्यक समुदाय हो।
निताई रोय चौधरीले पश्चिमी मगुरा निर्वाचन क्षेत्रबाट जमात-ए-इस्लामीका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गरेका थिए। उनी बीएनपी स्थायी समितिका सदस्य, उपाध्यक्ष तथा शीर्ष नेतृत्वका वरिष्ठ सल्लाहकारका रूपमा चिनिन्छन्। ७७ वर्षीय चौधरी पेशाले वकिल हुन् र उनलाई संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उनी युवा तथा खेलकुद मामिलामन्त्री भइसकेका छन्।
अर्का मन्त्री दीपेन दीवान चकमा जातीय बौद्ध अल्पसंख्यक समुदायबाट आएका हुन्। उनले रंगामाटी पहाडी जिल्लाबाट बीएनपीको टिकटमा निर्वाचन जितेका हुन्। ६२ वर्षीय दीवान पनि पेशाले वकिल हुन्। उनलाई चटगाउँ पहाडी क्षेत्र कार्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।
निर्वाचनमा अल्पसंख्यकको सहभागिता
बंगलादेश निर्वाचन आयोगका अनुसार १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनमा ७९ अल्पसंख्यक उम्मेदवार सहभागी भएका थिए, जसमा धार्मिक अल्पसंख्यक समुदायका १० महिला थिए। २२ राजनीतिक दलले ६७ उम्मेदवारलाई मनोनयन दिएका थिए भने १२ जना स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए।
बीएनपीले ६ अल्पसंख्यक उम्मेदवारलाई टिकट दिएको थियो भने जमात-ए-इस्लामीले आफ्नो इतिहासमै पहिलोपटक एक हिन्दू उम्मेदवारलाई टिकट दिएको थियो। बंगलादेश कम्युनिस्ट पार्टी (सीपीबी) ले सबैभन्दा बढी १७ अल्पसंख्यक उम्मेदवार उठाएको थियो। त्यसपछि बंगलादेश साम्यबादी दल (बीएसडी), बंगलादेश माइनोरिटी जनता पार्टी (बीएमजेपी) र बंगलादेश समाजवादी दल (बीएसओडी) ले पनि अल्पसंख्यक उम्मेदवारहरूलाई टिकट दिएका थिए।









