ढाका: बंगलादेशको मयमनसिंह जिल्लाको त्रिशाल उपजिलामा अज्ञात व्यक्तिहरूले ६२ वर्षीय एक हिन्दू व्यापारीलाई उनको पसलभित्र धारिलो हतियारले आक्रमण गरी हत्या गरेका छन्। त्रिशाल प्रहरी थानाका प्रभारी अधिकृत मोहम्मद फिरोज हुसैनले समाचार पोर्टल ‘बीडीन्यूज२४डटकम’लाई बताएअनुसार, सोमबार राति उपजिलाको बोगर बजार चोकमा उक्त घटना भएको हो।
उनका अनुसार मृतकको पहिचान दक्षिणकान्दा गाउँका बासिन्दा सुसेन चन्द्र सरकारका रूपमा भएको छ। उनी ‘भाइ भाइ इन्टरप्राइज’का मालिक थिए। आक्रमणपछि अपराधीहरूले उनलाई पसलभित्रै छोडी सटर बन्द गरेका थिए। पछि परिवारका सदस्यहरूले खोजतलास गर्ने क्रममा सटर खोलेर हेर्दा उनी रगतले लतपतिएको अवस्थामा फेला परे। गम्भीर घाइते अवस्थामा अस्पताल लगिए पनि उनको मृत्यु भयो।
मृतकका छोरा सुजन सरकारले भने, “हाम्रो पुरानो चामलको व्यापार हो। कसैसँग हाम्रो कुनै दुश्मनी थिएन। अपराधीहरूले मेरा बुवालाई निर्ममतापूर्वक हत्या गरेपछि पसलबाट धेरै लाख टाका लुटेर लगे।” उनले हत्याराहरूको शीघ्र पहिचान गरी कडा भन्दा कडा सजाय दिन माग गरेका छन्। यो हत्या अल्पसंख्यक समुदायलाई लक्षित हालैका हिंसात्मक घटनामध्ये अर्को एक घटना मानिएको छ।
दीपु चन्द्र दासको हत्या सम्झाइदियो:
डिसेम्बरमा कट्टरपन्थी युवा नेता शरीफ उस्मान हादीको हत्या भएयता बंगलादेशमा हिन्दू समुदाय लगातार हिंसाका घटनाबाट प्रभावित हुँदै आएको छ। गत महिना ‘बंगलादेश हिन्दू बौद्ध ख्रिष्टियन एकता परिषद्’ले आम निर्वाचन नजिकिँदै जाँदा देशमा साम्प्रदायिक हिंसा खतरनाक रूपमा बढ्दै गएको आरोप लगाएको थियो। परिषद्का अनुसार, सन् २०२५ को डिसेम्बर महिनामा मात्रै ५१ वटा साम्प्रदायिक हिंसाका घटना दर्ता भएका थिए, जसमा मयमनसिंह जिल्लाका कपडा मजदुर दीपु चन्द्र दासको हत्या सबैभन्दा भयावह थियो।
ईश्वर निन्दाको आरोपमा उनलाई कुटपिट गरी हत्या गरिनुका साथै शवलाई रुखमा झुण्ड्याएर जलाइएको थियो। घटनाको समयमा भीडले खुसी मनाउँदै भिडियो बनाइरहेको दृश्य बाहिर आएको थियो। शेख हसिनाको सरकार पतनपछि हिन्दूमाथि भएको अत्याचारको यो एक चरम उदाहरण मानिन्छ।
बंगलादेशमा लगातार हिन्दूहरूको हत्या:
अर्को घटनामा, जनवरी महिनामा जेसोर जिल्लामा ३८ वर्षीय हिन्दू व्यापारी तथा एक पत्रिकाका कार्यकारी सम्पादक राणा प्रताप बैरागीलाई अज्ञात हमलावरहरूले गोली हानी हत्या गरेका थिए। बैरागीको मृत्यु भएको २४ घण्टाभित्रै ढाकाको बाहिरी क्षेत्र नारायणगञ्ज जिल्लाको नरसिंदीमा एक हिन्दू किराना पसल मालिकलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरिएको थियो।
यी घटनापछि भारत सरकारले बंगलादेशलाई अल्पसंख्यकमाथि हुने आक्रमणविरुद्ध “छिटो र कडा कदम” चाल्न आग्रह गरेको थियो। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भनेका थिए, “यस्ता साम्प्रदायिक घटनाहरूको छिटो र कठोर रूपमा सामना गर्न आवश्यक छ। हामीले यस्ता घटनालाई व्यक्तिगत दुश्मनी, राजनीतिक मतभेद वा बाह्य कारणसँग जोड्ने चिन्ताजनक प्रवृत्ति देखिरहेका छौँ।” तर बंगलादेशका मोहम्मद युनुस नेतृत्वको सरकारले हिन्दूमाथि भएका आक्रमणलाई साम्प्रदायिक मान्न अस्वीकार गर्दै ती घटनालाई आपसी विवादको परिणाम भनेर व्याख्या गर्दै आएको छ।
बंगलादेशमा एक करोडभन्दा बढी हिन्दू:
बंगलादेशमा आगामी १२ फेब्रुअरीमा संसदीय निर्वाचन हुँदैछ। सन् २०२४ को अगस्टमा व्यापक जनआन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सत्ता पतनपछि यो देशको पहिलो चुनाव हुनेछ। सन् २०२२ को जनगणनाअनुसार बंगलादेशमा हिन्दू जनसंख्या करिब १ करोड ३१ लाख छ, जुन देशको कुल जनसंख्याको झन्डै ७.९५ प्रतिशत हो।










