‘फेक रेस्क्यु’ अनुसन्धानमा ६ पक्राउ, दुई अर्ब ८६ करोड रुपैयाँ नक्कली बीमा दाबी

IMG-20260126-WA0105

काठमाडौं: पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा पर्यटकहरूको नक्कली उद्धार (‘फेक रेस्क्यु’) प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रारम्भिक अनुसन्धानमा ३ वटा कम्पनीमार्फत झन्डै ३१७ वटा शङ्कास्पद उद्धार घटनामा करिब १९.६९ मिलियन अमेरिकी डलर (२ अर्ब ८६ करोड रुपैयाँ) नक्कली बीमा दाबीबाट प्राप्त भएको देखाएको छ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिवकुमार श्रेष्ठका अनुसार उद्धार कम्पनीहरूले किर्ते कागजात तयार पारी झुठ्ठा दाबीमार्फत रकम प्राप्त गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। कतिपय अवस्थामा एउटै उडानमा धेरै पटक उद्धारको विवरण तयार पारिएको वा फरक फरक उडान देखाइएका छन्।
नक्कली उद्धार सञ्चालनको रणनीति अनुसार, कम्पनीहरूले पर्यटकलाई हेलिकोप्टर आवश्यक छ भन्ने डर देखाएर रकम उठाउने काम गरेको प्रहरीले जनाएको छ। उचाइमा सामान्य उपचारले निको हुने पर्यटकलाई हेलिकोप्टरमार्फत अस्पतालमा पुर्याई उपचारको रिपोर्ट तयार गरेर बीमा रकम दाबी गरिएको छ।
अनुसन्धानमा अमेरिका, क्यानडा, जर्मनी, स्पेन, यूके, पोल्यान्ड जस्ता १४–१५ देशका पर्यटकहरू पनि नक्कली उद्धारको चक्रमा परेको देखिएको छ। यस विषयमा सम्बन्धित अस्पतालहरूलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ।
ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले प्रहरीको कारबाहीलाई स्वागतयोग्य ठहर गर्दै, लामो समयदेखि यो समस्या उठ्दै आएको तर ढिलाइ भएको बताए। हिमालय रेस्क्यु एशोसिएसनका महासचिव श्रीराम खत्रीले आवश्यक नपरेको अवस्थामा हेलिकोप्टर रेस्क्यु नगर्न र स्थानीय स्वास्थ्य संरचनालाई सुदृढ गर्नुपर्ने सुझाएका छन्।
प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा ५१ अनुसार राष्ट्रिय हित प्रतिकुल काम गरेको आरोपमा अनुसन्धान गरिरहेको छ। यसमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था रहेको छ।

About Author

Advertisement