हेग: अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी) ले सोमबार फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्तेका विरुद्ध सुनुवाइ प्रक्रिया सुरु गरेको छ। दुतेर्ते माथि आफ्नो कार्यकालमा लागू गरेका लागूऔषध विरोधी अभियानहरुमा मानवता विरुद्ध अपराधका तीन आरोप छन्।
८० वर्षीय दुतेर्ते सुनुवाइको समयमा अदालतमा उपस्थित थिएनन्। अभियोजकहरुले दक्षिणी फिलिपिन्सको डावो सहरमा उनका महापौर तथा राष्ट्रपति कार्यकालसँग सम्बन्धित आरोपहरुको प्रमाण पेश गर्न थाले।
यो सुनुवाइ प्रत्यक्ष मुद्दा नभई अभियोजन पक्षलाई प्रमाण प्रस्तुत गर्ने अवसर दिनका लागि हो। न्यायाधीशहरुले प्रमाणको समीक्षा पछि आरोप स्वीकार गर्ने कि अस्वीकार गर्ने निर्णय लिन सक्छन्। यसका लागि ६० दिन दिइएको छ।
पूर्व राष्ट्रपति दुतेर्तेले आरोपलाई “सिधा झूठ” भनेका छन्। मानवअधिकार समूह र पीडित परिवारहरुले सुनुवाइको स्वागत गरेका छन्।
उनका समर्थकहरुले वर्तमान राष्ट्रपति फर्डिनेंड मार्कोस जूनियरको प्रशासनको आलोचना गर्दै यसलाई विवादास्पद अदालतमा मुद्दा पठाउने प्रयास भएको बताएका छन्।









