काठमाडौँ: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीका क्रममा मतदाता शिक्षा दिन सबै जिल्लामा नमूना मतपत्र पुगिसकेको निर्वाचन आयोगले बताएको छ ।
कुल १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ भएको र ती मतपत्र मतदाता शिक्षाका लागि सबै जिल्लामा पुगिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालीकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको उनले बताए ।
बाँकी जिल्लाका मतपत्र क्रमशः छपाइ भइरहेको पनि आयोगले बताएको छ । यही माघ २५ गतेदेखि फागुन ५ गतेसम्म १६५ ओटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना रहेको प्रवक्ता भट्टराईको भनाइ छ । समानुपातिकतर्फको करीब २ करोडभन्दा बढी मतपत्र छपाइ कार्य भने सम्पन्न भइसकेको आयोगले जानकारी दिएको छ । – रासस










