प्रख्यात लेखक मनिशंकर मुखोपाध्यायको निधन

Shankar

कोलकाता: प्रख्यात साहित्यकार मणिशंकर मुखोपाध्याय, जसलाई साहित्य जगतमा ‘शंकर’ नामले चिनिन्थ्यो, को शुक्रबार दिउँसो निधन भएको छ। उहाँ ९२ वर्षका हुनुहुन्थ्यो।
पछिल्ला पन्ध्र दिनदेखि विभिन्न शारीरिक समस्याका कारण उहाँ बाइपास नजिकैको एक निजी अस्पतालमा भर्ना हुनुहुन्थ्यो। उमेरजन्य जटिलताका कारण उहाँको अवस्था लगातार नाजुक बन्दै गएको थियो। यसअघि डिसेम्बर महिनामा लड्दा उहाँको कम्मरको हड्डी भाँचिएको थियो, जसपछि शल्यक्रिया गरिएको थियो। उपचारपछि उहाँ घर फर्किनुभएको थियो, तर दुई हप्ता अघि पुनः स्वास्थ्य बिग्रिएपछि फेरि अस्पताल भर्ना गर्नुपरेको थियो। त्यहीँ उहाँले अन्तिम सास लिनुभयो।
उहाँको निधनले बङ्गला साहित्य जगत, पाठक समाज तथा सांस्कृतिक क्षेत्रमा शोकको लहर फैलिएको छ। उहाँको जन्म ७ डिसेम्बर १९३३ मा तत्कालीन अविभाजित भारतको जेसोर (हाल बङ्गलादेश) मा भएको थियो। दोस्रो विश्वयुद्धअघि उहाँका पिता कोलकातामा बसाइँ सरेका थिए। हावडामै उहाँको बाल्यकाल र शिक्षा–दीक्षा सम्पन्न भयो र त्यहींबाट उहाँको साहित्यिक जीवनको सुरुआत भयो।
सन् १९५५ मा उहाँको पहिलो पुस्तक प्रकाशित भएको थियो। बङ्गला उपन्यास ‘कतो अजानारे’ ले उहाँलाई व्यापक लोकप्रियता दिलायो। उहाँको चर्चित उपन्यास चौरंगीमा आधारित सन् १९६८ मा निर्माण गरिएको चलचित्र चौरंगीले उहाँलाई घर–घरमा परिचित गरायो। यस अतिरिक्त ‘सीमाबद्ध’, ‘जन अरण्य’, ‘चरण छुयेँ जाई’ र ‘अचेना अजाना विवेकानन्द’ जस्ता कृतिहरूले उहाँलाई विशिष्ट पहिचान दिलाए। आम जनजीवनका संघर्ष, सुख–दुःख तथा सामाजिक यथार्थलाई उहाँले आफ्नो लेखनीमा सशक्त रूपमा चित्रण गर्नुभयो। जीवनकालमा उहाँ साहित्य अकादमी पुरस्कार सहित अनेकौँ सम्मानबाट सम्मानित हुनुभयो।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले उहाँको निधनप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो कि शंकरको निधनसँगै बङ्गला साहित्यको एक उज्यालो नक्षत्र अस्त भएको छ। मुख्यमन्त्रीले उहाँका परिवारजन तथा असंख्य पाठकहरूप्रति समवेदना व्यक्त गर्नुभयो। शंकरको साहित्यिक योगदान आगामी पुस्ताका लागि सधैं प्रेरणाको स्रोत बनी रहनेछ।

About Author

Advertisement