‘प्याक्स सिलिका’ मा भारत सहभागी, प्रविधि सहकार्यमा नयाँ अवसर

PAX-Silica

नयाँ दिल्ली: भारत अमेरिका नेतृत्वको रणनीतिक गठबन्धन ‘प्याक्स सिलिका’ मा सहभागी भएको छ। यस पहलको उद्देश्य महत्वपूर्ण खनिज तथा कृत्रिम बुद्धिमत्ताका लागि सुरक्षित र लचिलो आपूर्ति शृंखला निर्माण गर्नु हो।
नयाँ दिल्लीमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो। कार्यक्रममा केन्द्रीय मन्त्री अश्विनी वैष्णव तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर उपस्थित थिए।
अमेरिकी आर्थिक मामिलाका उप विदेश मन्त्री ज्याकब हेलबर्गले यो पहल भविष्य निर्माण गर्ने राष्ट्रहरूको साझा प्रतिबद्धता भएको बताएका छन्।
गत डिसेम्बरमा सुरु गरिएको यस पहलअन्तर्गत वासिङ्टनमा आयोजित शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूले घोषणापत्रमा हस्ताक्षर गरेका थिए। कच्चा पदार्थदेखि अर्धचालक र कृत्रिम बुद्धिमत्ता पूर्वाधारसम्म आर्थिक तथा प्राविधिक सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको छ।
यस गठबन्धनमा अस्ट्रेलिया, ग्रीस, इजरायल, जापान, कतार, दक्षिण कोरिया, सिंगापुर, संयुक्त अरब इमिरेट्स र बेलायत सहभागी छन्।
विश्लेषकहरूका अनुसार, यसबाट भारतले अर्धचालक क्षेत्रमा लगानी भित्र्याउन, आवश्यक खनिज आपूर्ति सुनिश्चित गर्न तथा उन्नत उत्पादन क्षमतामा वृद्धि गर्न लाभ लिन सकिनेछ।

About Author

Advertisement