पेटको लागि सुपारी टिप्न जाँदा दर्दनाक मृत्यु

IMG-20260212-WA0086

बानरहाट: पेट पाल्न सुपारी टिप्न जाँदा मध्य शालबाडी क्षेत्रका बासिन्दा साब्लुर रहमानको दर्दनाक मृत्यु भएको छ। बिहीबार नागराकाटा ब्लकको उत्तर कलाबाडी क्षेत्रमा उक्त दुर्घटना भएको हो।
स्थानीय स्रोतका अनुसार साब्लुर रहमान लामो समयदेखि सानो स्तरको सुपारी व्यवसायसँग सम्बन्धित थिए। सो दिन उनी आफ्ना साथीहरूसँग सुपारी टिप्न गएका थिए। केही रूखबाट सुपारी झारेपछि अचानक एक रूखबाट तल खसेका थिए। दुर्भाग्यवश, रूखमुनि हालै निर्माण गरिएको घरको कंक्रिटको भुइँ भएकाले उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
साथीहरूले उनलाई तत्काल उद्धार गरी बनरहाट अस्पताल पुर्‍याए। तर ड्युटीमा रहेका चिकित्सकले उनलाई मृत घोषणा गरे। खबर फैलिनासाथ अस्पताल परिसरमा गाउँलेहरूको भीड लागेको थियो। पछि बनरहाट थाना पुलिसले शव बरामद गरी पोस्टमार्टमका लागि जलपाईगुडी पठाएको छ।
परिवारका अनुसार साब्लुर रहमान नै परिवारका एक मात्र कमाउने सदस्य थिए। घरमा उनका बुवा–आमा, श्रीमती र पाँच छोरी छन्। उनको असामयिक निधनले परिवारमा शोकको छाया छाएको छ। आर्थिक अनिश्चितता र भविष्यप्रति परिवार गहिरो चिन्तामा परेको छ। जानकारी अनुसार, मात्र दुई हप्ता अघि उनकी एक छोरीको विवाहसम्बन्धी कार्यक्रम सम्पन्न भएको थियो।

About Author

Advertisement