पाकिस्तानको टेस्ट टीममा फर्किन सफल शाहीन शाह अफरीदी

IMG-20251011-WA0063

लाहौर: देब्रे हातका पेस बलर शाहीन शाह अफरीदी लगभग १७ महिनाको लामो अन्तरालपछि पाकिस्तानको टेस्ट टीममा फर्किएका छन्। पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध २ वटा टेस्ट म्याचको घरेलु सीरीज खेल्नेछ अनि पहिलो टेस्ट म्याच १२ अक्टोबरदेखि लाहौरमा शुरु हुनेछ। आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीपको नयाँ चक्रमा यो दुवै टीमको पहिलो म्याच हुनेछ। पाकिस्तानको चयन समितिले १६ सदस्यीय टीममा ४ जना विशेषज्ञ स्पिनर सामेल गरेको छ। पहिलो टेस्ट म्याचको निम्ति प्रयोग गरिने पीच स्पिन बलिंग सहायक रहने तय भए पनि पाकिस्तान सन्तुलित बलिंग आक्रमणको साथ ओर्लिनेछ। शाहीन शाह अफरीदीले खुर्रम शहजादसँग नयाँ बल सम्हाल्नेछन् जबकि स्पिन आक्रमणको जिम्मेवारीमा नौमान अली र साजिद खान रहनेछन्। २५ वर्षीय शाहीनले आफ्नो अन्तिम टेस्ट म्याच मई २०२४-मा ईंग्ल्याण्डविरुद्ध खेलेका थिए। उल्लेखनीय छ, दक्षिण अफ्रिकाले यस साल जुनमा लर्ड्समा खेलिएको फाइनलमा अष्ट्रेलियालाई पराजित गरी वर्ल्ड टेस्ट च्याम्पियनशीप खिताब जितेको थियो। दक्षिण अफ्रिकी टीमलाई पाकिस्तानविरुद्ध सीरीजमा नियमित कप्तान तेम्बा बावूमाको सेवा चाहिँ प्राप्त हुनेछैन। बावुमा चोटले गर्दा सीरीजबाट बाहिर भएका छन्।

About Author

Advertisement