मुम्बई: गणतन्त्र दिवसअघि रिलिज हुँदै ‘बोर्डर २’ले बक्स अफिसमा जबरजस्त उछाल मारेको छ। सनी देओलको देशभक्तिले ‘धुरन्धर’मा रणबीरको उपस्थितिलाई कडा टक्कर दिएको छ। नस्टाल्जिया झल्काउँदै वरुण धवनको पुनरागमनसँगै ‘छावा’ले पनि आफ्नो प्रभुत्व गुमाउनु परेको छ।
पहिल्यै अनुमान लगाइएको थियो कि रिलिजको दिनमै ‘बोर्डर’को सिक्वेल हावी हुनेछ र फिल्मले कम्तीमा ३० करोड रुपैयाँ कमाउनेछ। त्यो अनुमान सही सावित भयो। ओपनिङ डेमा अनुराग सिंहद्वारा निर्देशित यस फिल्मले विजययात्रा सुरु गर्यो। प्राप्त जानकारीअनुसार, रिलिजकै दिन फिल्मले बक्स अफिसमा ३२.१० करोड रुपैयाँको व्यापार गर्यो।
गत वर्ष विक्की कौशलको सुपरहिट फिल्म ‘छावा’ले पहिलो दिन ३३.१० करोड रुपैयाँ कमाएको थियो। त्यस्तै, हिन्दी सिनेमाका सबै रेकर्ड तोड्ने ‘धुरन्धर’को ओपनिङ डे कमाइ ३३.६९ करोड रुपैयाँ थियो। गत वर्षका यी दुई ब्लकबस्टर फिल्मको नजिक पुगे पनि सनी देओल आफ्नो अघिल्लो फिल्मभन्दा केही पछाडि नै रहे। पहिलो दिनको कमाइको आधारमा अझै पनि ‘गदर २’ अग्रस्थानमा छ, जसले रिलिजको दिन ४० करोड रुपैयाँ संकलन गरेको थियो।
यद्यपि निर्देशक अनुराग सिंहलाई विश्वास छ कि आगामी तीन दिनमा ‘बोर्डर २’ले सबै रेकर्ड तोड्नेछ। शनिबार–आइतबारसँगै गणतन्त्र दिवसको बिदामा पनि यस देशभक्तिपूर्ण फिल्मप्रति दर्शकको उत्साह उच्च रहनेछ। निर्माताहरूलाई आशा छ कि सोमबारसम्म १९७१ को भारत–पाक युद्धमा आधारित ‘बोर्डर २’ले १५० करोड रुपैयाँको आँकडा पार गर्नेछ।
उल्लेखनीय छ कि ‘धुरन्धर’झैँ पाकिस्तान–विरोधी कथावस्तुका कारण ‘बोर्डर २’लाई संयुक्त अरब इमिरेट्सका केही देशहरूमा प्रतिबन्ध लगाइएको छ। बहरेन, कुवेत, ओमान, कतार र साउदी अरबमा सनी देओल, अहान शेट्टी र दिलजीत दोसाञ्झ अभिनीत यो फिल्म रिलिज भइरहेको छैन।
बताइएअनुसार निर्माताहरूले मध्यपूर्वका देशहरूमा रिलिजका लागि प्रयास पनि गरेका थिए, तर सफलता मिलेन। स्रोतका अनुसार, पाकिस्तान–विरोधी केही संवादका कारण ती देशहरूले ‘बोर्डर २’ प्रदर्शन गर्न अस्वीकार गरेका छन्। तथापि, यसले फिल्मको व्यापारमा नकारात्मक असर नपर्नेमा निर्माताहरू आशावादी छन्।










