पहिलोपल्ट रणजी ट्रफी फाइनलमा पुग्न सफल जम्मू-कश्मीर

IMG-20260218-WA0074

नयाँ दिल्ली: जम्मू-कश्मीर क्रिकेट टीमले इतिहास रच्यो। सेमिफाइनलमा बंगाल जस्तो शक्तिशाली टीमलाई ६ विकेटले पराजित गरी जम्मू-कश्मीरले पहिलोपल्ट रणजी ट्रफीको फाइनलमा स्थान बनायो। कल्याणीको बंगाल क्रिकेट एकाडमी ग्राउण्डमा खेलिएको म्याचमा जम्मू-कश्मीरको टीमलाई म्याच जित्न १२६ रनको लक्ष्य प्राप्त भएको थियो, जसलाई टीमले आफ्नो दोस्रो ईनिंग्समा केवल ४ विकेट गुमाएर हासिल गऱ्यो। पहिलो ईनिंग्समा ८ विकेट लिने बंगालका प्रमुख पेस बलर मोहम्मद शमीलाई दोस्रो ईनिंग्समा केवल १ विकेट हासिल भयो। म्याचमा जम्मू-कश्मीरको तर्फबाट पेस बलर आकिब नबीको असाधारण प्रदर्शन गर्दै जम्मा ९ विकेट (पहिलो ईनिंग्समा ५ र दोस्रो ईनिंग्समा ४) लिए। यसबाहेक उनले टीमको पहिलो ईनिंग्समा महत्त्वपूर्ण ४२ रन पनि बनाएका थिए। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै बंगालले सुदीप कुमारको शतकको सहायताले ३२८ रन बनायो। त्यसपछि जम्मू-कश्मीरको पहिलो ईनिंग्स ३०२ रनमा समाप्त हुँदा बंगाललाई पहिलो ईनिंग्सको आधारमा २६ रनको बढ़त हासिल भयो। पहिलो ईनिंग्समा अघि रहने बंगालको दोस्रो ईनिंग्समा चाहिँ दुर्दशा भयो अनि टीम केवल ९९ रन बनाएर समेटियो। यसरी जम्मू-कश्मीरलाई म्याच जितेर इतिहास रच्न १२६ रनको लक्ष्य प्राप्त भयो। जम्मू-कश्मीको दोस्रो ईनिंग्समा वंशज शर्माले अविजित ४३ रन बनाएर टीमलाई जीत दिलाए। यसबाहेक अब्दुल समदले अविजित ३० र शुभम पुन्दिरले २७ रनको योगदान दिए।

About Author

Advertisement