नयाँ दिल्ली: भारतको निर्वाचन आयोगले आज चार राज्य पश्चिम बङ्गाल, तमिलनाडु, असम र केरलसहित केन्द्रशासित क्षेत्र पुडुचेरीमा हुने विधानसभा चुनावको तालिका सार्वजनिक गर्ने भएको छ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले आज दिल्लीस्थित आयोगको मुख्यालयमा हुने पत्रकार सम्मेलनमार्फत चुनावको मिति र चरणबारे जानकारी दिने कार्यक्रम छ। यी राज्यहरूको विधानसभा कार्यकाल मे र जुन महिनाबीच समाप्त हुँदैछ।
चुनाव तालिका घोषणा हुनुअघि निर्वाचन आयोगको टोलीले ती राज्यहरूमा पुगेर चुनावी तयारीको समीक्षा गरेको थियो। यस क्रममा सरकारी अधिकारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग छलफल पनि गरिएको थियो।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले हालै कोलकाता र असममा विभिन्न सरकारी परियोजनाको उद्घाटन तथा शिलान्यास गर्दै राजनीतिक सभालाई सम्बोधन गरेका थिए।
यी चुनावलाई निकै महत्वपूर्ण मानिएको छ। असममा भारतीय जनता पार्टी तेस्रो पटक सत्ता कायम गर्ने प्रयासमा छ भने पश्चिम बङ्गालमा उसको प्रतिस्पर्धा मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको सरकारसँग हुने अपेक्षा गरिएको छ।









