पश्चिम बंगाल र उत्तर–पूर्व क्षेत्रमा मुद्रा योजनाअन्तर्गत २ करोडभन्दा बढी ऋण स्वीकृत: सांसद हर्षवर्धन शृङ्गलाको जानकारी

FB_IMG_1773413022633

नयाँ दिल्ली: राज्यसभा सांसद हर्षवर्धन शृङ्गलाले संसदमा पश्चिम बंगाल र उत्तर–पूर्वी क्षेत्रहरूमा प्रधानमन्त्री मुद्रा योजना अन्तर्गतको कार्यान्वयनबारे उठाएको प्रश्नको जवाफमा महत्वपूर्ण तथ्य सार्वजनिक भएको बताए।
उनका अनुसार वित्त राज्यमन्त्री पंकज चौधरी ले दिएको जानकारीअनुसार पछिल्लो तीन वर्षमा यी क्षेत्रहरूमा करिब १ दशमलव ७५ लाख करोड रुपैयाँ बराबरका २ करोडभन्दा बढी ऋण स्वीकृत भएका छन्। यी ऋणहरूले विशेषगरी सूक्ष्म र साना व्यवसायीहरूलाई सहयोग पुर्‍याएको छ, जसमा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको छ।
सांसद शृङ्गलाले बैंकहरूले वित्तीय साक्षरता अभिवृद्धि तथा ऋण अनुशासन कायम राख्न सक्रिय रूपमा काम गरिरहेको पनि बताए। उनले यो योजना उत्तर बंगाल र उत्तर–पूर्वी क्षेत्रका लागि विशेष रूपमा महत्वपूर्ण रहेको उल्लेख गर्दै सानो तथा सहज रूपमा उपलब्ध हुने ऋणले उद्यमशीलता विकास र रोजगारी सिर्जनामा टेवा पुर्‍याउने बताए।
उनका अनुसार यस्ता पहलहरूले युवा, महिला तथा पहिलो पटक व्यवसाय सुरु गर्ने उद्यमीहरूलाई आफ्नै व्यवसाय स्थापना गर्न सहयोग पुर्‍याइरहेका छन्, जसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउँदै राष्ट्रको समग्र विकासतर्फ अघि बढ्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

About Author

Advertisement