पश्चिम बंगाल निर्वाचन: पहिलो चरणको चुनावी तस्बिर स्पष्ट, १५२ सिटका लागि १४७८ उम्मेदवार मैदानमा

IMG_20260411_174429

कोलकाता: ​पश्चिम बंगालमा पहिलो चरणको मतदानका लागि मनोनयन फिर्ता लिने प्रक्रिया सकिएसँगै चुनावी प्रतिस्पर्धाको चित्र स्पष्ट भएको छ। निर्वाचन आयोगका अनुसार ९४ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएपछि अब १५२ सिटका लागि कूल १,४७८ जना प्रत्याशी चुनावी मैदानमा बाँकी रहेका छन्।
​प्रतिस्पर्धाको कसिलो घेरा
यसपटकको चुनावमा धेरैजसो स्थानमा बहुकोणीय भिडन्त हुने देखिएको छ। विशेषगरी काेचविहार साउथ र इटाहार जस्ता निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै १५–१५ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। जसले गर्दा यी क्षेत्रमा चुनाव निकै रोचक र प्रतिस्पर्धी हुने अनुमान गरिएको छ।
​उत्तर बंगाल र जङ्गलमहलमा कडा टक्कर
अप्रिल २३ मा हुने पहिलो चरणको मतदानमा दार्जिलिङ, कालिम्पोङ, जलपाइगुडी, अलिपुरद्वार, काेचविहार, उत्तर र दक्षिण दिनाजपुर, मालदा लगायत जङ्गलमहलका जिल्लाहरू झाड़ग्राम, पुरुलिया, बाँकुडा र मेदिनीपुर जस्ता क्षेत्रहरू समेटिएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार उत्तर बंगाल र जङ्गलमहलमा सत्ता पक्ष र विपक्षबीच निकै कडा टक्कर हुने देखिएको छ।
​निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूबीच आरोप–प्रत्यारोप र प्रचारप्रसारको राप बढेको छ। मतदाताहरूले अबको १० दिनपछि आफ्नो क्षेत्रको प्रतिनिधि छान्ने फैसला गर्नेछन्।

About Author

Advertisement