कोलकाता: पश्चिम बंगालको प्रशासनिक इतिहासमा पहिलोपटक महिला अधिकारीलाई मुख्य सचिव नियुक्त गरिएको छ। राज्य सरकारले आईएएस अधिकारी नन्दिनी चक्रवर्तीलाई नयाँ मुख्य सचिव बनाएको हो। बुधबार राति नवान्नबाट जारी गरिएको अधिसूचनामार्फत यस निर्णयको जानकारी दिइएको हो।
निवर्तमान मुख्य सचिव मनोज पन्तलाई मुख्यमन्त्री ममता ब्यानर्जीको प्रिन्सिपल सेक्रेटरी नियुक्त गरिएको छ। उनको कार्यकाल ३० जुनमा समाप्त भइसकेको थियो भने केन्द्र सरकारको अनुमतिमा छ महिनाको सेवा अवधि बढाएर ३१ डिसेम्बरसम्म कायम गरिएको थियो। उक्त अवधि समाप्त भएसँगै नयाँ वर्षअघि नै नयाँ मुख्य सचिव नियुक्त गरिएको हो।
नन्दिनी चक्रवर्ती यसअघि गृह, पहाड तथा पर्यटन विभागकी सचिवका रूपमा कार्यरत थिइन्। उनको स्थानमा जगदीश प्रसाद मीणालाई राज्यको नयाँ गृह सचिव बनाइएको छ। मीणाले १ जनवरीदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्।
१९९४ ब्याचकी आईएएस अधिकारी नन्दिनी चक्रवर्तीको सेवा अवधि २०२९ को जुन अन्त्यसम्म रहनेछ। यस अर्थमा उनी सन् २०२९ को लोकसभा निर्वाचनसम्म पश्चिम बंगालकी मुख्य सचिव रहनेछिन्। बुधबार नवान्नमा निवर्तमान मुख्य सचिव मनोज पन्तले पुष्पगुच्छ प्रदान गर्दै आफ्नी उत्तराधिकारी नन्दिनी चक्रवर्तीलाई शुभकामना दिएका थिए।
नन्दिनी चक्रवर्तीलाई ३१ डिसेम्बर २०२३ मा गृह सचिव बनाइएको थियो। उनी पश्चिम बंगालकी दोस्रो महिला गृह सचिव हुन्। यसअघि वाम शासनकालमा लीना चक्रवर्ती पहिलो महिला गृह सचिव बनेकी थिइन्। नन्दिनीलाई गृह सचिव बनाउँदा राजनीतिक विवादसमेत उठेको थियो। प्रतिपक्षका नेता शुभेन्दु अधिकारीले वरिष्ठ अधिकारीहरूलाई बेवास्ता गर्दै गरिएको यो नियुक्ति अवैध भएको दाबी गरेका थिए। यद्यपि सरकारी नियममा यस्ता नियुक्तिमा कानुनी रोक नरहेको र यसलाई परम्परागत प्रशासनिक अभ्यासको विषय मानिँदै आएको छ।
मुख्यमन्त्री ममता ब्यानर्जीको यो निर्णयलाई धेरैले प्रशासनिक स्थिरता कायम राख्ने कदमका रूपमा लिएका छन्। मनोज पन्तलाई प्रिन्सिपल सेक्रेटरी बनाएर मुख्यमन्त्रीसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण कामहरू निरन्तर सम्हाल्ने जिम्मेवारी दिइएको छ। यसैसँग हालका प्रिन्सिपल सेक्रेटरी गौतम सान्यालको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै कार्यभार व्यवस्थापनसमेत गरिएको छ।
नयाँ गृह सचिव बनेका जगदीश प्रसाद मीणालाई प्रशासनिक वृत्तमा सबैभन्दा जुनियर गृह सचिवका रूपमा हेरिएको छ, किनकि उनी सचिव स्तरबाट सिधै गृह सचिव बनेका हुन्। परम्परागत रूपमा यस पदमा अतिरिक्त मुख्य सचिव स्तरका अधिकारी नियुक्त हुँदै आएका थिए। प्रशासनिक स्रोतका अनुसार, मुख्य सचिव नन्दिनी चक्रवर्तीको मार्गदर्शनमा काम गर्दा प्रशासनिक सन्तुलन कायम रहने अपेक्षा गरिएको छ।
नन्दिनी चक्रवर्तीको प्रशासनिक करियर उतार–चढावले भरिएको मानिन्छ। सन् २०११ मा ममता ब्यानर्जी मुख्यमन्त्री बनेपछि उनी सूचना तथा संस्कृति विभागकी सचिव बनेकी थिइन्। सन् २०२२ मा सीभी आनन्द बोस राज्यपाल बनेपछि उनलाई लोकभवनको प्रिन्सिपल सेक्रेटरी नियुक्त गरियो। तर पछि राज्यपालको आपत्तिपछि उनलाई हटाएर पर्यटन विभागमा पठाइयो। राज्यपालले लोकभवनमा रहँदा गोप्य सूचना राज्य सरकारलाई दिएको आरोप लगाएका थिए, जसलाई लिएर विवाद चर्किएको थियो।
मुख्य सचिव र गृह सचिवको नियुक्तिसँगै नवान्नमा अन्य तहमा पनि फेरबदल गरिएको छ। वरुण राय पर्यटन विभागका सचिव बनेका छन् भने दुश्मन्त नारियालालाई जेल विभागको अतिरिक्त जिम्मेवारी दिइएको छ। सुरिन्दर गुप्तालाई प्रेसिडेन्सी डिभिजनको डिभिजनल कमिश्नर बनाइएको छ। त्यसैगरी अत्रि भट्टाचार्यलाई नेताजी सुभाष प्रशासनिक प्रशिक्षण संस्थानको अतिरिक्त जिम्मेवारी दिइएको छ।









