कोलकाता: कोलकातामा निर्वाचन तालिका सार्वजनिक भएसँगै पश्चिम बंगालमा प्रशासनिक तहमा व्यापक हेरफेर गरिएको छ। भारत निर्वाचन आयोग ले मतदान कार्यक्रम घोषणा गरेलगत्तै राज्य सरकारले विभिन्न अधिकारीहरूको सरुवा आदेश जारी गरेको हो। नवान्नबाट जारी सूचनाअनुसार ३० जना डब्ल्यूबीसीएस (एक्जीक्यूटिभ) अधिकृतलाई नयाँ जिम्मेवारी दिइएको छ।
सरकारी विज्ञप्तिअनुसार उक्त आदेश वास्तवमा १३ मार्चमै जारी गरिएको भए पनि १६ मार्चमा मात्र सार्वजनिक गरिएको थियो। प्रशासनिक तथा कार्मिक विभागले जनहितमा प्रशासनिक कार्यलाई छिटो र प्रभावकारी बनाउन यस्तो हेरफेर गरिएको जनाएको छ।
सरुवाअन्तर्गत अनन्तचन्द्र सरकारलाई उत्तर दिनाजपुरको अतिरिक्त जिल्ला मजिस्ट्रेट नियुक्त गरिएको छ भने पुष्पक रायलाई पनि सोही जिल्लामा एडीएमका रूपमा पठाइएको छ। आईटी तथा इलेक्ट्रोनिक्स विभागका विष्णुब्रत भट्टाचार्यलाई मुर्शिदाबादमा एडीएम बनाइएको छ। यस्तै सुदीप्त दासलाई नदिया तथा शुभलक्ष्मी बसु र ब्रिजित सुचिता कुजूरलाई उत्तर २४ परगनामा अतिरिक्त जिल्ला मजिस्ट्रेटको जिम्मेवारी दिइएको छ। राज्य सरकारले निर्वाचनअघि प्रशासनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले यो निर्णय लिएको जनाएको छ।










