न्यूयोर्क: इरानमाथि संयुक्त राज्य अमेरिका र इजरायलका समन्वित हमलापछि पश्चिम एशियामा युद्धको अवस्था सिर्जना भएको छ। त्यसको असर सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि रूपमा देखिएको छ। ऊर्जा आपूर्ति शृंखलामा अवरोध आउने आशंकाले बजारमा अस्थिरता बढाएको छ।
विशेषगरी होर्मुज जलडमरूमध्य वरपरको सुरक्षास्थितिले चिन्ता बढाएको छ। फारसको खाडीको यो संकुचित समुद्री मार्ग विश्व तेल आपूर्तिको महत्वपूर्ण ‘चोकपोइन्ट’ मानिन्छ। दैनिक करिब १ करोड ५० लाख ब्यारेल, अर्थात् विश्व आपूर्तिको झन्डै २० प्रतिशत कच्चा तेल यही मार्ग हुँदै ओसारपसार हुने ऊर्जा अनुसन्धान कम्पनी रिस्टाड एनर्जीले जनाएको छ।
सोमबार बिहान अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य प्रतिव्यारेल करिब ७२ अमेरिकी डलर पुगेको थियो, जुन अघिल्लो शुक्रबारको तुलनामा करिब ७.३ प्रतिशत बढी हो। अन्तर्राष्ट्रिय मानक ब्रेन्ट क्रुड ७८.५५ डलर प्रतिव्यारेलमा कारोबार भएको छ, जुन अघिल्लो सत्रभन्दा ७.८ प्रतिशतले बढी हो। अघिल्लो शुक्रबारको मूल्य सात महिनाकै उच्च थियो।
इरानले दैनिक करिब १६ लाख ब्यारेल तेल निर्यात गर्ने गरेको छ, जसको ठूलो हिस्सा चीनतर्फ जान्छ। उक्त आपूर्ति प्रभावित भएमा विश्व बजारमा थप मूल्यचाप पर्न सक्ने विश्लेषण गरिएको छ।
‘ओपेक प्लस’ले उत्पादन बढाउने
यसैबीच तेल उत्पादक मुलुकहरूको समूह ओपेक प्लसका आठ सदस्यले उत्पादन बढाउने घोषणा गरेका छन्। ओपेकका अनुसार आगामी अप्रिलदेखि दैनिक २ लाख ६ हजार ब्यारेल उत्पादन वृद्धि गरिनेछ। उत्पादन बढाउने मुलुकमा साउदी अरेबिया, रुस, इराक, संयुक्त अरब अमिरात, कुवेत, कजाखस्तान, अल्जेरिया र ओमान रहेका छन्।
विश्लेषकहरूका अनुसार उत्पादन वृद्धिले केही हदसम्म बजारलाई सन्तुलनमा राख्न मद्दत गर्न सक्छ। तर पश्चिम एशियामा सैन्य द्वन्द्व लम्बिएमा कच्चा तेलसहित पेट्रोलियम पदार्थको मूल्य अझै बढ्न सक्ने जोखिम कायम नै छ।









