काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले देशलाई आर्थिक रूपमा समृद्ध बनाउन नेपालीहरूमा पर्याप्त क्षमता भए पनि दृढ संकल्पको अभाव रहेको बताएका छन्।
शनिवार काठमाडौंमा आयोजित एनआरएनएको १२औँ एकता महाधिवेशनमा महतोले आगामी १० वर्षमा नेपाललाई १०० बिलियन अमेरिकी डलरको अर्थतन्त्र बनाउन सकिने बताउनुभयो। उहाँले नेपालीहरू बौद्धिक, आर्थिक, शारीरिक तथा मानसिक रूपमा देश समृद्ध बनाउन सक्षम रहेको पनि उल्लेख गर्नुभयो।
महतोका अनुसार, हाल करिब ८० लाख नेपाली विदेशमा बसिरहेका छन् र वार्षिक करिब २० अर्ब डलरको रेमिट्यान्स नेपाल भित्रिन पुग्छ। नेपालभित्रको अर्थतन्त्र जति छ, त्यति नै विदेशी आर्थिक गतिविधि रेकर्डहरूसँग जोडिएको उहाँको भनाइ छ।
उहाँले गैरआवासीय नेपालीहरूको लगानी महत्त्वपूर्ण भएको बताएर सरकारसँग गुनासो मात्रै गर्ने प्रवृत्ति त्याग्न र देश निर्माणमा सक्रिय भूमिका खेल्न आह्वान गर्नुभयो। साथै, विदेशी लगानी आकर्षित गर्नुअघि गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।
महतोले नेपालका निजी क्षेत्रले गैरआवासीय नेपालीलाई बेवास्ता गरेको गुनासो गर्दै भने, “नेपालको निजी क्षेत्र र गैरआवासीय नेपाली मिलेर काम नगरेसम्म अर्थतन्त्र प्रगति गर्न सक्दैन।” उहाँले विदेशमा रहेका नेपालीहरूलाई केवल सुझाव दिन मात्र होइन, प्रत्यक्ष योगदान गर्न नेपाल आउन आग्रह गर्नुभयो।









