नेपाल निर्वाचन: प्रारम्भिक नतिजामा रास्वपाको स्पष्ट अग्रता, दुई तिहाइ नजिक पुग्ने संकेत

IMG-20260307-WA0037

नेत्रविक्रम बिमली

झापा: नेपालमा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक नतिजाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई स्पष्ट अग्रता दिलाएको देखिएको छ। हालसम्म ३५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।
सार्वजनिक नतिजाअनुसार रास्वपाले एक्लैले २५ क्षेत्रमा विजय हासिल गरेको छ। नेपाली कांग्रेसले ५ क्षेत्रमा जित निकालेको छ भने नेकपा (एमाले)ले २ र नेकपाले २ क्षेत्रमा सफलता पाएका छन्। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।
मतगणना जारी रहेका अन्य क्षेत्रमा पनि रास्वपाकै दबदबा देखिएको छ। उपलब्ध विवरणअनुसार ९२ क्षेत्रमा रास्वपाले अग्रता कायम गरेको छ। नेपाली कांग्रेस ९, एमाले १०, नेकपा १०, श्रम संस्कृति पार्टी ५ र राष्ट्रिय प्रजातन्त्र पार्टी १ क्षेत्रमा अघि रहेका छन्।
प्रत्यक्षतर्फको मत परिणामसँगै समानुपातिकतर्फको गणना पनि सुरु भइसकेको छ। प्रारम्भिक नतिजाअनुसार समानुपातिकतर्फ पनि रास्वपाले अग्रता बनाएको देखिन्छ र अहिलेसम्मको गणनामा करिब ५७ प्रतिशत मत प्राप्त गरेको छ।
प्रत्यक्ष र समानुपातिक दुवै तर्फको प्रारम्भिक परिणामलाई हेर्दा रास्वपाले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत नजिक पुग्ने सम्भावना देखिएको छ। यद्यपि अन्तिम परिणाम आउन बाँकी रहेकाले राजनीतिक सन्तुलन कस्तो रहनेछ भन्ने विषय मतगणना सम्पन्न भएपछि मात्र स्पष्ट हुनेछ।

About Author

Advertisement