काठमाडौँ: प्रधान सेनापति अशोकराज सिग्देलले आगामी निर्वाचनलाई सुरक्षित र सुचारु रूपमा सञ्चालन गर्न अन्य सुरक्षा निकाय र सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी काम गर्न निर्देशन दिएका छन्।
बुधबार जङ्गी अड्डामा सम्पन्न पृतनापति समन्वयात्मक बैठकमा सम्बोधन गर्दै प्रधान सेनापतिले एकीकृत सुरक्षा योजना–२०२६ अनुसार समन्वयात्मक रूपमा निर्वाचनमा परिचालित हुन आदेश दिएका हुन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ कि सेनापतिले बैठकमा सकलदर्जाको सामूहिक भावना र एकढिक्कापन कायम राख्दै जिम्मेवारीमा खटिने आदेश दिएका छन्। साथै, पृतनास्तरमा भएको प्रभावकारी कार्यका लागि पृतनापतिलाई धन्यवादसमेत दिएका छन्।
बैठकमा वर्तमान परिस्थितिको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्ती पक्ष लगायत समसामयिक विषयमा छलफल गरिएको थियो। बलाधिकृत र रथीवृन्दलगायत उच्च अधिकारीहरूको उपस्थितिमा बैठक समापन गरिएको सैनिक निर्देशनालयले जनाएको छ।
प्रधान सेनापति सिग्देलको यस निर्देशनले आगामी निर्वाचन सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न हुने आशा व्यक्त गरिएको छ।










