काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका जिम्मेवार नेताहरूबाट भइरहेका अमर्यादित र घृणाजन्य अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगत केही दिनयता एकअर्काप्रति लगाइएका आक्षेप र घृणा फैलाउने खालका भाषणहरूले समाजमा अराजकता निम्त्याउने भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न सचेत गराएको हो।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि त्यसले अरूको मर्यादामा चोट पुर्याउने र शान्ति सुरक्षामा आँच पुर्याउन नहुने उल्लेख गरिएको छ। घृणाजन्य अभिव्यक्तिले निर्वाचनको समयमा सुरक्षा चुनौती थप्ने र लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर बनाउने आयोगको ठहर छ। आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार र सामाजिक सद्भावप्रति सधैँ ध्यान पुर्याउन जिम्मेवार व्यक्तिहरूलाई आग्रह गरिएको छ।
आयोगले राजनीतिक दलका नेता, उम्मेदवार र सर्वसाधारणलाई सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित हुन तथा मानव अधिकारमैत्री भाषा मात्र प्रयोग गर्न भनेको छ। घृणायुक्त अभिव्यक्तिको प्रचारप्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि आयोगले निर्देश गरेको छ।
यस्ता अभिव्यक्तिले समाजमा विभाजन ल्याउन सक्ने भन्दै आयोगले शान्ति सुरक्षालाई थप मजबुत बनाउन नेपाल सरकारलाई समेत निर्देशन दिएको छ।










