नालन्दा मन्दिर भागदौड: ९ जनाको मृत्यु

1774943195976_nalanda_stampede

पटना: भारतको नालन्दा जिल्लामा रहेको शीतला माता मन्दिर मा मंगलबार पूजा गर्ने क्रममा भागदौड मच्चिँदा ८ महिला लिएर कुल ९ जनाको मृत्यु भएको छ भने धेरै श्रद्धालु घाइते भएका छन्।
दीपनगर थाना क्षेत्रको मघडा गाउँस्थित मन्दिरमा ठूलो भीड जम्मा भएपछि अचानक भागदौडको अवस्था सिर्जना भएको थियो। घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा भर्ना गरिएको छ, जहाँ केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
अधिकारीहरूका अनुसार केही श्रद्धालुको अस्पताल पुग्नुअघि नै मृत्यु भएको थियो भने केहीको उपचारका क्रममा ज्यान गएको हो। घटनापछि मन्दिर परिसर र अस्पताल क्षेत्रमा अफरातफरीको अवस्था सिर्जना भएको थियो। प्रहरी र प्रशासनको टोली घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्यमा जुटेको छ।
बिहारशरीफका सहायक प्रहरी अधीक्षक नूरुल हकले मृतकहरूको पहिचान भइरहेको र घाइतेहरूको उपचार जारी रहेको जानकारी दिए। त्यस्तै, नालन्दाका उप-विकास आयुक्त शुभम कुमारले अत्यधिक भीडका कारण यस्तो दुर्घटना भएको हुन सक्ने बताएका छन्।
यस घटनाप्रति दुःख व्यक्त गर्दै बिहारका मुख्यमन्त्री नीतीश कुमार ले मृतकका परिवारलाई जनही ६ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्। उनले घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
उपमुख्यमन्त्री सम्राट चौधरी ले पनि घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेका छन्।
यस्तै, विपक्षी नेता तेजस्वी यादव ले घटनालाई प्रशासनिक कुप्रबन्धको परिणाम भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिनको माग गरेका छन्।
चैत्र महिनाको अन्तिम मंगलबार तथा शीतला अष्टमीका अवसरमा मन्दिरमा हरेक वर्ष ठूलो भीड लाग्ने भएकाले यसपटक पनि अत्यधिक भीडका कारण यो दुःखद घटना भएको बताइएको छ।

About Author

Advertisement