राज्य सरकारका साढे १४ वर्षको विस्तृत रिपोर्ट कार्ड
कोलकाता: मुख्यमन्त्री ममता बनर्जीको नेतृत्वमा रहेको राज्य सरकारको साढे चौध वर्षको शासनकालको विस्तृत रिपोर्ट कार्ड ‘उन्नयनको पाँचाली’ शुक्रबार पुस्तकका रूपमा प्रकाशित भएको छ। यसअघि मुख्यमन्त्री ममता बनर्जीले यस रिपोर्ट कार्डको उद्घाटन गर्नुभएको थियो। नवान्नमा आयोजित औपचारिक कार्यक्रममा राज्यका मुख्य सचिव मनोज पन्थले उक्त पुस्तक सार्वजनिक गर्नुभयो। कार्यक्रममा गृह सचिव नन्दिनी चक्रवर्ती, अर्थ सचिव प्रभात मिश्रासहित अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
यो पुस्तक मुख्यमन्त्रीद्वारा ०२ डिसेम्बरमा सार्वजनिक गरिएको साढे चौध वर्षको रिपोर्ट कार्डको विस्तृत तथा प्रमाणिक दस्तावेज हो। बंगलासहित कुल छ भाषामा प्रकाशित यस पुस्तकमा सन् २०११ देखि २०२५ सम्म राज्य सरकारद्वारा गरिएका विकाससम्बन्धी कार्यहरूको समग्र विवरण प्रस्तुत गरिएको छ। पुस्तकमा सामाजिक सुरक्षा, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पूर्वाधार, रोजगारी, ग्रामीण विकास, अल्पसंख्यक कल्याण, पर्यटन तथा संस्कृति जस्ता क्षेत्रमा सरकारले सञ्चालन गरेका विभिन्न योजना, खर्च तथा उपलब्धिहरूको विस्तृत जानकारी समावेश गरिएको छ।
मुख्य सचिव मनोज पन्थले आम नागरिकसमक्ष विकासका कामहरू पारदर्शी रूपमा प्रस्तुत गर्ने उद्देश्यले यो पुस्तक प्रकाशित गरिएको बताउनुभयो। आगामी छ महिनामा सम्पन्न हुने कार्यहरूको विस्तृत विवरण पनि अर्को वर्ष यसमा समावेश गरिनेछ। यो पुस्तक राज्य सरकारको वेबसाइटमा पनि उपलब्ध हुनेछ र आम जनतामाझ समेत वितरण गरिनेछ।











