‘धुरन्धर २’ सिनेमा इतिहासकै सबैभन्दा ठूलो मल्टिस्टारर बन्ने राम गोपाल वर्माको दाबी

RGV_8

नयाँ दिल्ली: चर्चित भारतीय फिल्म निर्देशक राम गोपाल वर्माले आदित्य धरद्वारा निर्देशित फिल्म ‘धुरन्धर २’ सिनेमा इतिहासकै सबैभन्दा ठूलो मल्टिस्टारर फिल्म बन्ने दाबी गरेका छन्। उक्त फिल्म आगामी मार्चमा प्रदर्शनमा आउने तयारीमा छ।
गत डिसेम्बरमा प्रदर्शनमा आएको ‘धुरन्धर’ फिल्ममा अभिनेता रणवीर सिंहले मुख्य भूमिका निर्वाह गरेका थिए। फिल्मको कथा कन्धार विमान अपहरण काण्ड, सन् २००१ को संसद् आक्रमण तथा सन् २००८ नोभेम्बर २६ मा मुम्बईमा भएका आतङ्कवादी हमलाजस्ता घटनाको पृष्ठभूमिमा आधारित छ।
रणवीर सिंहसँगै फिल्ममा अक्षय खन्ना, संजय दत्त, सारा अर्जुन, आर. माधवन र अर्जुन रामपाललगायत कलाकारहरूको सशक्त अभिनय रहेको छ।
फिल्मको प्रशंसा गर्दै वर्माले आइतबार सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, “पहिलो भागका सबै पात्रले दर्शकको मनमा गहिरो छाप छोडेका कारण ‘धुरन्धर २’ इतिहासकै सबैभन्दा ठूलो मल्टिस्टारर फिल्म बन्नेछ।” उनले पहिलो भागका साना–ठूला सबै पात्र अहिले सुपरस्टार बनिसकेको उल्लेख गरेका छन्।
विश्वव्यापी रूपमा १३०० करोडभन्दा बढी कमाइ
फिल्म ‘धुरन्धर’ले हालसम्म विश्वभर १३०० करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको छ। अमेरिकी क्षेत्रमा सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्मको कीर्तिमानसमेत यसले बनाएको छ।
भारतमा फिल्म अझै पनि हलमा प्रदर्शनरत छ। आइतबारसम्म भारतमा मात्रै फिल्मले ८७९.७५ करोड रुपैयाँ कमाइसकेको छ। पाँच डिसेम्बरमा प्रदर्शनमा आएको फिल्मले एक महिनापछि पनि दर्शकको आकर्षण कायम राखेको छ। आइतबार मात्रै फिल्मले ४.२५ करोड रुपैयाँको व्यापार गरेको थियो।
यस्तो निरन्तर कमाइ भारतीय फिल्म उद्योगमा दुर्लभ मानिन्छ। यही कारण ‘धुरन्धर २’ लाई प्रदर्शनअघि नै सम्भावित ब्लकबस्टरका रूपमा हेरिन थालेको छ। फिल्मको दोस्रो भाग आगामी १९ मार्चमा प्रदर्शनमा आउने तयारीमा रहेको छ।

About Author

Advertisement