‘धुरन्धर २’ बारे अनिलको ठूलो खुलासा

IMG-20260314-WA0053

मुम्बई: ६९ वर्षको उमेरमा पनि बलिउडका ‘मिस्टर इन्डिया’ अनिल कपूर अझै पनि सदाबहार देखिन्छन्। उमेर उनका लागि केवल एउटा संख्या मात्र हो भन्ने कुरा उनको अभिनयले बारम्बार प्रमाणित गर्छ। हालै अनिल कपूरको नयाँ श्रृंखला ‘सुबेदार’ ओटीटी माध्यममा रिलिज भएको छ र निकै लोकप्रिय भइरहेको छ। यसैबीच ‘धुरन्धर २’ लाई लिएर अनिल कपूरले ठूलो खुलासा गरेका छन् र आफ्नो अभिनय जीवनको सबैभन्दा ठूलो गल्तीबारे पनि खुलेर बोलेका छन्।
उनले के भने? हालैको एक अन्तर्वार्तामा अनिल कपूरले भने, “आदित्य धरको फिल्म ‘धुरन्धर’ बारे छुट्टै केही भन्नु पर्दैन। अरू सबैजस्तै यस फिल्मलाई लिएर मेरो उत्साह पनि निकै उच्च छ। त्यही ‘धुरन्धर’ को सिक्वेलमा आदित्यले मलाई एउटा विशेष भूमिकामा अभिनय गर्ने प्रस्ताव दिएका थिए।
तर मलाई त्यो प्रस्ताव अस्वीकार गर्नुपर्‍यो। प्रस्ताव अस्वीकार गरेपछि मलाई लाग्यो कि यो मेरो ठूलो गल्ती थियो। मेरो अभिनय जीवनमा यसभन्दा ठूलो नोक्सानी सायद अरू केही हुन सक्दैन। तर म बाध्य थिएँ। वास्तवमा आदित्यले जब मलाई उक्त फिल्मका लागि प्रस्ताव दिएका थिए, त्यस बेला म अर्को फिल्मको सुटिङका लागि पहिले नै प्रतिबद्ध भइसकेको थिएँ। त्यसैले मैले दिएको वचन तोड्न चाहिनँ र प्रस्ताव फिर्ता गर्नुपर्‍यो।”
यसका साथै अनिल कपूरले भने, “प्रतिबद्धता नै सबैभन्दा ठूलो कुरा हो। आज म जे छु र जति छु, त्यो केवल आफ्नो कामप्रतिको जिम्मेवारीका कारण हो। केवल प्रतिभाले मात्र कुनै कलाकार बन्दैन, उसले आफ्नैप्रति र आफ्ना प्रशंसकहरूप्रति पनि जिम्मेवार हुनुपर्छ। म सधैं त्यो जिम्मेवारीलाई कायम राख्ने प्रयास गर्दै आएको छु।
त्यसैले म त्यो विश्वास कुनै पनि हालतमा कमजोर बनाउन चाहन्नँ। यद्यपि भविष्यमा आदित्य धरको फिल्ममा अभिनय गर्ने मेरो ठूलो इच्छा छ। मनदेखि चाहन्छु कि त्यो अवसर फेरि मलाई मिलोस्।”

About Author

Advertisement