‘धुरन्धर–२’ चलचित्रमा देखिनेछिन् यामी गौतम

IMG-20260205-WA0077

मुम्बई: एक समय हिन्दी फिल्म उद्योगमा खासै अवसर नपाएकी अभिनेत्री यामी गौतम आज फेरि चर्चाको केन्द्रमा छिन्। गोरो बनाउने सौन्दर्य प्रसाधनको विज्ञापन गरेकै कारण आलोचना खेप्नुपरेको थियो। यहाँसम्म कि बलिउडका चर्चित फेसन डिजाइनर मनीष मल्होत्राले समेत उनलाई विवाहका पहिरन दिन अस्वीकार गरेको चर्चा पनि चलेको थियो। तर यिनै अभिनेत्रीले हालै इमरान हाश्मीको विपरित ‘हक’ चलचित्रमा आफ्नो अभिनय क्षमता प्रमाणित गरिन्।
अब हजार करोड क्लब पार गरिसकेको धुरन्धर’ फ्रेन्चाइजको दोस्रो भाग ‘धुरन्धर–२’ मा उनी तासको इक्का बनेर देखिन लागेकी छिन्। खबर अनुसार, यामी गौतमले यस चलचित्रमा एक महत्वपूर्ण भूमिकामा अभिनय गर्नेछिन्। आदित्य धरद्वारा निर्देशित ‘धुरन्धर–२’ आगामी १९ मार्चमा सिनेमाघरमा प्रदर्शनमा आउनेछ। बदला-भावनाले भरिएको ‘हम्जा अली’ पात्रको आक्रामक झलक देखिसकेपछि दर्शकमाझ कौतूहल झन् बढेको छ, र यस्तै माहोलमा यामीको कास्टिङ सार्वजनिक भएको हो।
उनको भूमिकाबारे जानकारी अनुसार, यामीले आफूलाई मन पर्ने, पूर्ण रूपमा लडाकु अवतारको चरित्र पाएकी छिन्। यसका लागि उनले मारधाड र एक्शनका चालहरू सिक्नुपरेको छ र करिब पाँच दिनको सुटिङ पनि पूरा गरिसकेकी छिन्। ३० जनवरीदेखि दक्षिण मुम्बईको व्यस्त फोर्ट क्षेत्रमा ‘धुरन्धर–२’ को छायांकन तीव्र गतिमा भइरहेको छ। त्यहाँ पाकिस्तानको लियारी शहरको झल्को दिने सेट तयार गरिएको छ, जहाँ गल्ली–कुचामा कहिले संजय दत्त त कहिले ‘हम्जा’को लुकमा रणवीर सिंह पापाराजीको क्यामेरामा कैद भएका छन्।
यसै कार्यव्यस्तताबीच निर्देशक आदित्य धरकी पत्नी तथा अभिनेत्री यामी गौतम पनि सुटिङमा सामेल भएकी हुन्। ‘धुरन्धर’ को सफलतापछि आलिया भट्टदेखि करण जोहरसम्मले यामीको ‘हक’ प्रदर्शनको खुलेर प्रशंसा गरेका थिए। तर ‘धुरन्धर–२’ टिममा उनको प्रवेशसँगै फेरि ‘नेपोटिज्म’ को बहस उठेको छ। केही आलोचकहरूले “निर्देशककी पत्नी भएकै कारण उनलाई मौका दिइयो” भनेका छन्, त कतिपयले कलाकारको अभावमा घरकै सदस्यलाई अन्तिम समयमा प्रयोग गरिएको आरोप लगाएका छन्। कसैले त निर्देशक आदित्य धरलाई नै निशाना बनाउँदै पत्नीलाई अभिनेत्री र भाइलाई सम्पादक बनाउनु पनि नेपोटिज्म नै हो भनेका छन्।
तर यामी यी सबै आलोचनालाई खासै महत्व दिन चाहँदिनन्। किनकि धेरै अघिदेखि उनले ‘धुरन्धर’ को पटकथा पढेर नै “काश, म केटा भएको भए!” भनेर चाहना व्यक्त गरेकी थिइन्। अन्ततः एक्शन फिल्ममा एक्शन गर्ने उनको चाहना अब ‘धुरन्धर–२’ मार्फत पूरा हुँदैछ।

About Author

Advertisement