‘धुरन्धर २’को सफलता पछि नागपुरमा रणवीर सिंह, मोहन भागवतसँग भेट

1200-675-26451766-thumbnail-16x9-img

नयाँ दिल्ली: बलिउड अभिनेता रणवीर सिंह आफ्नो हालै प्रदर्शनमा आएको फिल्म ‘धुरन्धर २: द रिभेन्ज’ को अभूतपूर्व सफलतापछि भारतको नागपुर पुगेका छन्। त्यहाँ उनले राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवतसँग भेटवार्ता गरेका छन्।
रणवीर सिंह शुक्रबार दिउँसो नागपुरस्थित आरएसएस मुख्यालय पुगेका थिए। उनले करिब डेढ घण्टा त्यहाँ बिताएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भेटका क्रममा उनले आफ्नो फिल्मबारे चर्चा गर्नुका साथै संघका गतिविधि, सेवा कार्यक्रम र सामाजिक कार्यबारे जानकारी लिएको बताइएको छ।
यस अवसरमा रणवीर सिंह सेतो कुर्ता–पायजामामा देखिएका थिए। उनको भ्रमणसँग सम्बन्धित तस्बिरहरू सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेका छन्।
आरएसएस मुख्यालय भ्रमणपछि उनले रेशिमबागस्थित डा. के.बी. हेडगेवार स्मृति मन्दिरमा पुगेर संस्थापक के.बी. हेडगेवार र पूर्व प्रमुख (एम.एस. गोलवलकर प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
निर्देशक आदित्य धर द्वारा निर्देशित ‘धुरन्धर २’ ले विश्वभर १६०० करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै ठूलो सफलता हासिल गरेको छ। यसअघि पहिलो भागले पनि करिब १३०० करोड कमाएको थियो।
फिल्मको सफलता सँगै केही समूहहरूले यसलाई ‘प्रोपेगान्डा’ भनेर आलोचना गरेका छन्। यद्यपि निर्देशक सन्दीप रेड्डी वांगा ले सार्वजनिक रूपमा फिल्मको समर्थन गर्दै आलोचकहरूलाई कडा जवाफ दिएका छन्।
रणवीर सिंहको नागपुर भ्रमण र आरएसएस प्रमुखसँगको भेटले मनोरञ्जन र सामाजिक–राजनीतिक क्षेत्र दुवैमा चर्चा उत्पन्न गरेको छ। फिल्मको व्यावसायिक सफलता र यससँग जोडिएको बहसले उनलाई थप केन्द्रमा ल्याएको छ।

About Author

Advertisement