धार्मिक ध्रुवीकरणबारे ए. आर. रहमानको सफाइ

IMG-20260202-WA0108

मुम्बई: धार्मिक ध्रुवीकरणलाई लिएर उठेको विवादले अस्कर विजेता संगीतकार ए. आर. रहमानलाई पछ्याउन छोडेको छैन। यस विषयमा उनले फेरि एकपटक आफ्नो पक्ष स्पष्ट पारेका छन्। यसपटक भने उनको स्वरमा केही खिन्नता पनि झल्किएको देखियो।
केही दिनअघि ‘कपिल शर्मा शो’मा देखिएका रहमानले भने, “मानिसहरूले सूचनालाई कसरी गलत रूपमा बुझ्छन् भन्ने कुरा मैले बुझ्न सिकें। फरक–फरक राज्य, फरक–फरक संस्कृतिहरू छन्। यहाँ सूचना सबैसम्म पुग्नुअघि नै विकृत भइदिन्छ—यही त यस संसारको समस्या हो।”
यस विवादको सुरुआत गत जनवरीमा भएको थियो। एक अन्तर्वार्तामा ए. आर. रहमानले पछिल्ला आठ वर्षमा सत्तापरिवर्तनको प्रभावका कारण बलिउडमा आफ्ना धेरै काम हातबाट गएको दाबी गरेका थिए। यसका पछाडि साम्प्रदायिक विभाजनको नीति पनि कारण हुनसक्ने उनले बताएका थिए। रहमानले भनेका थिए, “यद्यपि कसैले पनि यो कुरा मेरो मुखमै आएर भनेको छैन, तर कानाफूसीमार्फत यस्ता कुरा मसम्म आइपुगेका छन्।” अस्कर विजेता संगीतकार तथा गायकले थपे, “यदि इमान्दारी हुँदाहुँदै पनि काम नपाइयो भने म फेरि कसैकोमा गएर सिफारिस गर्न सक्दिनँ। कसैको अफिसमा गएर बसेर पर्खन पनि सक्दिनँ।” यसपछि नै विवाद झन् चर्किएको थियो।
यस तानातानको बीच १८ जनवरीमा उनले इन्स्टाग्राममार्फत एक भिडियो साझा गर्दै आफ्नो धारणा स्पष्ट पारे। उक्त भिडियोमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त यस संगीतकारले भने, “साथीहरू, संगीत सधैं मेरो लागि जोड्ने, उत्सव मनाउने र सम्मान प्रकट गर्ने माध्यम रहँदै आएको छ। भारत मेरो प्रेरणा हो, मेरा शिक्षक हुन् र मेरो घर हो। कहिलेकाहीँ उद्देश्यलाई लिएर गलत बुझाइ हुन सक्छ, तर संगीतमार्फत प्रगति र सम्मान नै मेरो लक्ष्य हो। म कहिल्यै कसैलाई चोट पुर्‍याउन चाहन्नँ।”
उही भिडियो सन्देशमा उनले थपे, “म भारतीय भएकोमा गर्व गर्छु। देशले मेरो सृजनात्मक स्वतन्त्रतालाई मूल्य दिएको छ।” सो भिडियोमा उनले आफ्नो करियरका केही महत्वपूर्ण कामहरूको पनि उल्लेख गरे। उनले भने, “मैले जाला परियोजनामा काम गरेको छु, जुन वेभ्स समिटमा प्रधानमन्त्री मोदीसमक्ष प्रस्तुत गरिएको थियो। मैले नागा संगीतकारहरूसँग मिलेर एक स्ट्रिङ अर्केस्ट्रा तयार गरेको छु, सनशाइन अर्केस्ट्रालाई परामर्श दिएको छु। भारतको पहिलो बहुसांस्कृतिक भर्चुअल ब्यान्ड ‘सिक्रेट माउन्टेन’ स्थापना गरेको छु। मैले रामायणको संगीतमा हान्स जिमरसँग पनि सहकार्य गरेको छु। यी सबै अनुभवहरूले मेरो संगीतको उद्देश्यलाई अझ सुदृढ बनाएका छन्।” यस मुद्दामा ए. आर. रहमानले फेरि एकपटक जोडदार रूपमा आफ्नो पक्ष प्रस्तुत गरेका छन्।

About Author

Advertisement