धादिङ: नेपालको धादिङ जिल्लामा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
प्रहरीका अनुसार पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस सोमबार बिहान करिब १:३० बजे बेनिघाट रोराङ गाउँपालिका–५ स्थित पृथ्वी लोकमार्ग बाट तल खस्दै त्रिशूली नदी मा पुगेको थियो।
सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले १७ जनाको शव निकालिएको पुष्टि गरेका छन्। उनका अनुसार घाइते २८ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
बसमा कुल ४५ जना सवार रहेको प्रहरीको भनाइ छ। तीमध्ये ४३ जना पोखराबाट र दुई जना मुग्लिनबाट चढेका थिए।
मृतक र घाइतेहरूको सनाखत प्रक्रिया जारी रहेको अधिकारीहरूले बताएका छन्। दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन।

उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल नेपालका विपद् व्यवस्थापन टोली र गोताखोर परिचालन गरिएको जनाइएको छ। अधिकारीहरूले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।









