दार्जिलिङ: आज सांसद राजु विष्टले दार्जिलिङमा भारत सरकारका प्रतिनिधि अन्तरलोक्यूटर पंकज कुमार सिंहसँग भेट गरे। यसबारेमा सामाजिक संजालमा सांसदले भने, ‘अन्तरलोक्यूटर यहाँ हाम्रो क्षेत्रका जनता, भारत सरकार र पश्चिम बंगाल सरकारबीच हुने अत्यन्त महत्वपूर्ण त्रिपक्षीय वार्तालाई समाधानतर्फ अगाडि बढाउन आएका हुन्।”
सांसदले दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रका जनताका तर्फबाट अन्तरलोक्यूटरलाई स्वागत गरे र उनको प्रयासहरूको सफलताको कामना गरे।
सांसदले भने, ‘उनि एक सेवानिवृत्त आईपीएस अधिकारी तथा भारत सरकारका पूर्व उप–राष्ट्रिय सुरक्षा सल्लाहकार हुन। संवादलाई सहज बनाउने र जटिल विषयहरू समाधान गर्ने विषयमा उनिसँग व्यापक अनुभव रहेको छ। यो उनको यस क्षेत्रको पहिलो भ्रमण भएकाले हाम्रो क्षेत्रका जनताका दीर्घकालीन आकांक्षाहरू सम्बोधन गर्न सबै सरोकारवालाहरूलाई एकताबद्ध गर्ने नयाँ अवसर प्रस्तुत भएको छ।
यसरी नै सांसदले यस भेटका क्रममा यस क्षेत्रको भू–राजनीतिक जटिलताबारे ध्यानाकर्षण गराए, किनकि यो क्षेत्र बंगलादेश, नेपाल र भूटानसँग सीमाना जोडिएको छ र चीन पनि अत्यन्त नजिक छ। यसले दार्जिलिङ पहाड, तराई र डुवर्स सम्पूर्ण क्षेत्रलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण बनाउँछ। सांसदले अन्तरलोक्यूटरसँग निष्पक्ष, पारदर्शी र समतामूलक छलफल सुनिश्चित गर्न, कुनै पनि राजनीतिक पूर्वाग्रहबाट मुक्त रहन आग्रह गरेको कुरा उल्लेख गरे। साथै, सबै सरोकारवालाहरूको समावेशी सहभागितामा विशेष जोड दिँदै वार्तामा नयाँ गति दिन अनुरोध गरेको छु भने।

दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रका जनताले निर्वाचित गरेको प्रतिनिधिको हैसियतले सांसदले यस पहललाई राष्ट्रको संविधान अन्तर्गत यस क्षेत्रका लागि समाधान खोज्ने दिशामा एक अत्यन्त महत्वपूर्ण कदमको रूपमा हेरे। पश्चिम बंगाल सरकारसहित सबै सरोकारवालाहरूले अन्तरलोक्यूटरसँग सकारात्मक रूपमा सहकार्य गर्नेछन् र प्रक्रियालाई शीघ्र अघि बढाउन सहयोग गर्नेछन् भनि सांसद आशावादी बनेको कुरा संजाल मार्फत व्यक्त गरे।
अन्त्यमा, यस क्षेत्रसँग सम्बन्धित सबै मुद्दाहरू समाधान गर्न दृढ समर्थन र प्रतिबद्धता देखाएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी तथा केन्द्रीय गृह मन्त्री अमित शाहप्रति पुनः एकपल्ट फेरि हार्दिक धन्यवाद व्यक्त गरे।










