पिता–छोरासहित तीन जना पक्राउ
दार्जीलिङ: दार्जीलिङ जिल्ला पुलिसले लागूऔषधविरुद्ध सञ्चालन गरेको शून्य सहनशीलता अभियानअन्तर्गत ठूलो सफलता हासिल गरेको छ। पुलिस कारबाहीमा पिता र छोरासहित तीन जना लागूऔषध तस्कर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा खोरीबारीका मोहम्मद शाहिद, उनका छोरा मोहम्मद समद र उमेश राय रहेका छन्। तीनै जना खोरीबारी क्षेत्रका बासिन्दा भएको पुलिसले जनाएको छ।
पुलिस स्रोतका अनुसार खोरीबारी थाना क्षेत्रअन्तर्गत पर्ने पानीट्याङ्की चौकीले आइतबार राति खोरीबारीको कोलोनी मोडस्थित राज्य सडकमा सवारी चेकजाँच अभियान सञ्चालन गरेको थियो। सो क्रममा एक मोटरसाइकल रोकेर तलासी लिँदा ३०५ ग्राम ब्राउन सुगर बरामद गरिएको हो।
लागूऔषध तस्करीको आरोपमा एक नाबालिगसहित कूल तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न रहेको खुलेको छ।
प्रहरीका अनुसार बरामद गरिएको ब्राउन सुगरको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ३० लाख रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ।
पक्राउ परेका अभियुक्तहरूलाई आज सिलगढीस्थित मजिस्ट्रेट अदालतमा पेस गरिनेछ। पुलिसले उनीहरूलाई रिमान्डमा लिएर घटनाबारे थप गहन अनुसन्धान अघि बढाउने जनाएको छ।
दार्जीलिङ जिल्ला पुलिसले लागूऔषध कारोबार नियन्त्रणका लागि यस्ता कारबाहीलाई निरन्तर र कडा रूपमा अघि बढाइने स्पष्ट पारेको छ।









