बैंकक: थाइल्याण्डको राजधानी बैंकक नजिकैको एक सडकमा बिहीबार फेरि अर्को निर्माण दुर्घटनाको खबर आएको छ। यसको ठीक एक दिनअघि मात्र देशको उत्तर–पूर्वी क्षेत्रमा चलिरहेको यात्रुबाहक रेलमाथि निर्माण कार्यमा प्रयोग गरिएको क्रेन खस्दा कम्तीमा ३२ जनाको मृत्यु भएको थियो।
बिहीबारको दुर्घटनामा मृत्युको विषयमा तत्काल कुनै आधिकारिक पुष्टि नभए पनि, स्वयंसेवी दमकलकर्मी तथा उद्धारकर्मीहरूको गतिविधि कभर गर्ने ‘फायर एन्ड रेस्क्यु थाइल्याण्ड’को फेसबुक पेजले घटनामा कम्तीमा एक जनाको मृत्यु भएको जनाएको छ। दुर्घटना एक एलिभेटेड सडक निर्माण परियोजनास्थलमा भएको हो।
यसैबीच, प्रान्तीय गभर्नर अनुफोंग सुक्सोमनितले नाखोन रत्चासिमा प्रान्तमा बुधबार भएको रेल दुर्घटनामा जीवित व्यक्तिहरूको खोजी कार्य समाप्त भएको जानकारी दिएका छन्। अधिकारीहरूका अनुसार, हराइरहेका भनिएका तीन यात्रु सम्भवतः दुर्घटनाअघि नै रेलबाट ओर्लिएका थिए, यद्यपि यस विषयमा अनुसन्धान जारी छ।
ट्रेनमा १७१ जना सवार थिए:
अधिकारीहरूको अनुमान अनुसार, रेलका तीनवटै डब्बामा गरी जम्मा १७१ जना यात्रु सवार थिए, जसलाई बिहीबार घटनास्थलबाट उद्धार गरिएको थियो। सरकारको जनसम्पर्क विभागको बयानअनुसार, बैंककको उपनगर सामुत साखोन प्रान्तस्थित रामा–२ रोड एलिभेटेड एक्सप्रेसवेमा बिहीबार बिहान करिब ९ बजे एक निर्माण क्रेन भत्किँदा दुईवटा सवारीसाधन भग्नावशेषमुनि च्यापिएका थिए, जसमा ठूला धातुका गर्डरहरू पनि समावेश थिए। बयानअनुसार, उद्धार अभियान अझै जारी छ।
नाखोन रत्चासिमाको रेल दुर्घटनास्थलमा बुधबार राति खोज तथा उद्धार अभियान समाप्त भएपछि बिहीबार पनि भग्नावशेष हटाउने काम जारी रह्यो। उक्त दुर्घटनामा क्रेन खस्दा चलिरहेको रेल पटरीबाट उत्रिएको थियो र रेलका केही भागहरू क्रेनमुनि थिचिएका थिए।
नाखोन रत्चासिमा प्रान्तका प्रहरी प्रमुख नारोंगसाक प्रोमता घटनास्थलमा उपस्थित पत्रकारहरूलाई बताएअनुसार, हराइरहेका भनिएका तीन जनाको अवस्था पुष्टि गर्न प्रहरीले सबै यात्रुहरूको विवरण जाँच गरिरहेको छ। दक्षिण कोरियाको विदेश मन्त्रालयले मृतकमध्ये करिब ३० वर्ष उमेरका एक दक्षिण कोरियाली नागरिक पनि रहेको जनाएको छ। मन्त्रालयले शोकसन्तप्त परिवारलाई कन्सुलर सेवा प्रदान गरिरहेको छ।








