काठमाडौँ(नेत्र बिक्रम बिमली): नेपाली चलचित्र क्षेत्रका दिग्गज निर्देशक तुलसी घिमिरे यतिबेला आफ्नो नयाँ चलचित्र ‘पहाड’ मार्फत पुनः दर्शकमाझ चर्चाको केन्द्रमा छन्। ‘चिनो’, ‘कुसुमे रुमाल’ र ‘दर्पण छायाँ’ जस्ता व्यावसायिक र कलात्मक दुवै हिसाबले सफल चलचित्र दिएका घिमिरेले यसपटक ‘पहाड’ मा नेपाली समाजको गहिरो र मर्मस्पर्शी पक्षलाई समेटेका छन्। झण्डै पाँच दशकदेखि नेपाली कला र भाषाको श्रीवृद्धिका लागि पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप नेपाल सरकारबाट हालै ‘सम्मानित नागरिकता’ प्राप्त गर्न लागेका घिमिरेको यो फिल्मप्रतिको आत्मविश्वासले पनि यसको गुणस्तर र ओजलाई थप पुष्टी गर्छ।

सामान्यतया नेपाली फिल्महरूलाई केवल मनोरञ्जनको साधनका रूपमा मात्र हेरिने गरिए पनि घिमिरेले यसपटक त्यो घेरालाई तोड्ने प्रयास गरेका छन्। ‘पहाड’ केवल मनोरञ्जन मात्र नभएर दर्शकले आफ्नै जीवनका भोगाइ र लुकेका पीडाहरूको अनुभूति गर्ने एउटा जीवन्त ऐनाका रूपमा तयार पारिएको छ। विशेष गरी नेपाली समाजले लामो समयदेखि भोग्दै आएको ‘पलायन’ को तितो यथार्थ र त्यसले उब्जाएको पीडालाई यसले मुख्य कथावस्तु बनाएको छ। निर्देशक घिमिरेले यसपटक पनि नेपाली माटोको गन्ध र पहाडी जनजीवनको संवेदनशीलतालाई पर्दामा उतार्न कुनै कसर बाँकी राखेका छैनन्।
फिल्मको अर्को सशक्त पक्ष यसको कास्टिङ र कलाकारहरूको भूमिका हो। नेपाली कला क्षेत्रका दुई भिन्न धारका हस्तीहरू मदनकृष्ण श्रेष्ठ र सुनिल थापालाई यसपटक दर्शकले निकै अनौठो र अपत्यारिलो चरित्रमा देख्न पाउनेछन्। उनीहरूको यो फरक उपस्थितिले फिल्मप्रति थप कौतुहलता जगाएको छ। त्यस्तै, हरेक फिल्ममा आफूलाई नयाँ स्वरूपमा ढाल्न सिपालु अभिनेता विपिन कार्की यसपटक पनि विल्कुलै भिन्न भूमिकामा प्रस्तुत भएका छन्। एउटा सन्देशमूलक कथाको जगमा उभिएको ‘पहाड’ ले दर्शकलाई केवल हलसम्म ल्याउने मात्र नभई उनीहरूलाई एउटा अर्थपूर्ण सन्तुष्टि दिएर फर्काउने दाबी निर्माण पक्षको छ। यसपटक दर्शकबाट आलोचनाभन्दा पनि ताली बढी पाइनेमा निर्देशक घिमिरे र उनको टोली पूर्ण रूपमा ढुक्क देखिएको छ।










