तीस्ता बाढीपीडित १० परिवारलाई घर हस्तान्तरण, पहिरो पीडितलाई पनि सहयोग गरिने

FB_IMG_1773601806031

सिलगढी: २०२३ मा आएको तीस्ता बाढीबाट प्रभावित १० परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरियो। रंगपो, भालुखोला, तोर्खोला, तीस्ता बजार र बाँगे बजार क्षेत्रमा रहेका बाढीपीडित परिवारका लागि यी घरहरू निर्माण गरी प्रदान गरिएको हो।
स्मरण रहोस् सन् २०२३ मा आएको तीस्ता बाढीले तीस्ता आसपासका क्षेत्रका सयौँ परिवारको जीवनमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीले धेरै परिवारका घर तथा जीविकोपार्जनका स्रोत बगाएर लगेपछि प्रभावित परिवारहरू गम्भीर समस्यामा परेका थिए। त्यसबेला ती परिवारहरूको पुनर्वासका लागि सांसद राजु विष्टको व्यक्तिगत तलबबाट कम्तीमा १० वटा घर निर्माण गरिदिने उनले प्रतिबद्धता व्यक्त गरेका थिए। सोही प्रतिबद्धता अनुसार अहिले ती घरहरू निर्माण सम्पन्न गरी सांसदले सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको बताए।
सांसदले घर पाउने लाभग्राहीहरूमा बाँगे बजार २७ माइलकी सङ्गीता क्षेत्री, तीस्ता बजारकी चन्द्रमाया दर्नाल र मीना सार्की, मल्लि–भालुखोलाका ज्ञान छिरिङ लेप्चा र जितेन थापा, तोर्खोलाका सनिल सुब्बा र डीबी सुब्बा तथा रंगपोका राजकुमारी, जगदीश शाह र नौराज राई रहेका छन् भनि जानकारी गराए।
साथै सांसदले निर्माण गरिएका यी घरहरूले प्रभावित परिवारलाई केवल आश्रय मात्र नभई सम्मान र स्थायित्वको अनुभूति दिलाउने विश्वास व्यक्त गरे अतएव यसले उनीहरूलाई बिस्तारै आफ्नो जीवन पुनःस्थापना गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए।

यसका साथै सन् २०२५ को अक्टोबर महिनामा गएको पहिरोका कारण रिम्बिक–लोधोमा समष्टिअन्तर्गत पर्ने फेदी खोला र फेन्चेतार क्षेत्रमा घर गुमाएका १२ परिवारलाई पनि सहयोग गर्ने योजना रहेको जनाए। यसरी नै अन्तमा उनले आगामी दिनहरूमा पनि विपद्पीडित तथा सीमान्तकृत परिवारहरूको सहयोगका लागि यस्ता प्रयासहरू निरन्तर जारी राखिने र आवश्यकता परेको बेला जनतासँगै उभिने प्रतिबद्धता व्यक्त गरे।

About Author

Advertisement