तनावबारे नेपाल सरकारको धारणा सार्वजनिक: ‘आतंकविरुद्धको लडाइँमा सँगै छौ’

IMG-20250508-WA0210

काठमाडौं: भारतको पाहलगाममा २२ अप्रिल २०२५ मा पर्यटकहरू लक्षित गरी गरिएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ। सो घटनामा एक नेपाली नागरिकको समेत ज्यान गएको थियो।
परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै दुःखद घडीमा नेपाल र भारत साझा पीडा र दुःखमा एक भएर उभिएको उल्लेख गरेको छ। मन्त्रालयले उक्त आतंकवादी आक्रमणको नेपालले तत्कालनै कडा शब्दमा भर्त्सना गरेको स्मरण गराएको छ।
‘नेपालले सधैँ सबै प्रकारका आतंकवादको कडा विरोध गर्दै आएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आतंकविरुद्धको लडाइँमा नेपाल सबैसँग उभिएको छ।’
नेपालले आफ्नो स्थायी नीतिअनुसार आफ्ना छिमेकी देशहरूविरुद्ध कुनै पनि दुर्भावनापूर्ण गतिविधिका लागि नेपाली भूमिको प्रयोग हुन नदिने स्पष्ट पारेको छ।
नेपालले यस क्षेत्रको दीर्घकालीन शान्ति र स्थायित्वका लागि तनावको शान्तिपूर्ण न्युनिकरणको आशा व्यक्त गरेको छ।

About Author

Advertisement