मुम्बई: पुणेकी ३२ वर्षीया रेसर डायना पुंडोलेले अन्तर्राष्ट्रिय मोटरस्पोर्टमा नयाँ इतिहास रचेकी छन्। फरारी क्लब च्यालेन्ज मिडिल ईस्टमा फरारी २९६ च्यालेन्ज कार चलाउँदै उनले यस प्रतियोगितामा सहभागिता जनाउने मात्र होइन, रेस जित्ने पहिलो भारतीय महिला बन्ने कीर्तिमानसमेत बनाएकी छन्।
नोभेम्बर २०२५ देखि सुरु भएको उक्त च्याम्पियनशिपअन्तर्गत डायना दुबई, अबुधाबी, बहराइन, कतार र साउदी अरेबियाका विश्वप्रसिद्ध फर्मुला वन सर्किटहरूमा प्रतिस्पर्धा गरिरहेकी छन्। फरारीको अत्याधुनिक र ट्र्याक–केन्द्रित कारसहितको उनको प्रदर्शनले अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको छ।
यसअघि उनी एमआरएफ राष्ट्रिय च्याम्पियनशिपमा पहिलो भारतीय महिला राष्ट्रिय च्याम्पियन बनेकी थिइन्। दुई सन्तानकी आमा समेत रहेकी डायना पुंडोलेको सफलतालाई नेपाली तथा भारतीय मोटरस्पोर्ट क्षेत्रमा महिलाका लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ।









