काेलकाता: केरला टुरिजमले ‘ट्राभल नाउ, पोस्ट लेटर’ नामक सर्वभारतीय अभियान सुरु गरेको छ। १२ फेब्रुअरी २०२६ मा सार्वजनिक गरिएको यो विश्वव्यापी पहलले सचेत र अनुभव–केन्द्रित यात्रालाई प्रोत्साहन गर्दै सामाजिक सञ्जालमा पोस्ट गर्नुभन्दा पहिले यात्राको क्षणलाई प्रत्यक्ष रूपमा महसुस गर्न आग्रह गर्दछ। अभियानको मुख्य सन्देश छ, “पहिले अनुभव गरौं, पछि सेयर गरौं।”
यस अभियानअन्तर्गत डिजिटल प्लेटफर्ममार्फत प्रचार गरिनुका साथै travelnowpostlater.com नामक माइक्रोसाइट पनि सञ्चालनमा ल्याइएको छ। केरला टुरिज्मले आफूलाई विचारशील पर्यटन प्रवर्द्धकका रूपमा स्थापित गर्दै यात्रालाई केवल फोटो खिच्ने र प्रचार गर्ने माध्यम नभई गहिरो अनुभूति र उपस्थितिमा आधारित अनुभवका रूपमा प्रस्तुत गरेको छ।
कोच्चि-मुज़िरिस बिएननेल, दक्षिण एशियाकै सबैभन्दा ठूलो समकालीन कला प्रदर्शनी, ३१ मार्चसम्म सञ्चालनमा रहनेछ। फोर्ट कोच्चि क्षेत्रमा आयोजना हुने यस बिएनालेले कोचीलाई कला–आधारित अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गरेको छ र सांस्कृतिक पर्यटनलाई नयाँ उचाइ दिएको छ।
पर्यटन मन्त्री पी.ए.मोहम्मद रियाजले कोभिडपछिका वर्षहरूमा केरालामा पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको बताउँदै आगामी इन–बाउन्ड सिजनमा यो प्रवृत्ति अझै बढ्ने अपेक्षा व्यक्त गरे।

गर्मी बिदा लक्षित गर्दै चेन्नई, बेंगलुरु, हैदराबादपछि फेब्रुअरीमा कोलकाता, लखनउ र इन्दौरमा बीटुबी मिट तथा रोडशो आयोजना गरिनेछ। साथै ‘निशागन्धी नृत्य उत्सव’ जस्ता सांस्कृतिक कार्यक्रम र उत्तर केरालाका कोझिकोड, वायनाड र बेकलजस्ता नयाँ गन्तव्यहरूलाई पनि विशेष रूपमा प्रवर्द्धन गरिनेछ।
यसैबीच, २० जनवरीदेखि नयाँ दिल्लीमा ‘लेन्स्केप केरला’ फोटो प्रदर्शनी सुरु भई विभिन्न शहरमा भ्रमण गर्नेछ। आयुर्वेद, वेलनेस, एड्भेन्चर, लक्जरी तथा एमआईसीई पर्यटनका विविध आयाममार्फत केरालालाई सुरक्षित र बहुआयामिक गन्तव्यका रूपमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।








