ट्रम्पले रुसी तेल कम्पनीहरूमाथि लगाए प्रतिबन्ध

IMG-20251023-WA0084

वाशिंगटन डीसी: युक्रेनसँग शान्ति सम्झौता गर्न मस्कोलाई थप दबाव दिनका लागि अमेरिकाले रुसका दुई ठूला तेल कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका प्रतिबन्धहरूको निशानामा रोसनेफ्ट र लुकोएल रहेको बीबीसीले उल्लेख गरेको छ। राष्ट्रपति ट्रम्पले भने, ‘हरेक पटक जब म भ्लादिमिर (पुटिन)सँग कुरा गर्छु, कुरा राम्रै हुन्छ तर अगाडि बढ्दैन।’
ट्रम्पले यो कुरा नेटो महासचिव मार्क रुटसँगको भेटपछि बताएका हुन्। जहाँ दुवैले शान्ति वार्ताको विषयमा छलफल गरेका थिए। यी प्रतिबन्धहरूले विकासशील देशहरूको ऊर्जा सुरक्षामा (तेल र ग्याँस आपूर्तिमा) असर पार्ने रुसले चेतावनी दिएको छ।
एक दिनअघि ट्रम्पले बुडापेस्टमा हुने पुटिनसँगको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको बताएका थिए। बुधबार बिहान रुसले युक्रेनमा भीषण बमबारी गरेको थियो। जसमा केही बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले भने, ‘पुटिनले यो युद्ध रोक्न अस्वीकार गरेकाले नयाँ प्रतिबन्ध आवश्यक भएका हुन्।’ बेसन्टका अनुसार यी तेल कम्पनीहरूले रुसलाई युद्धका लागि आर्थिक सहयोग पुर्‍याउँछन्। उनी भन्छन्, ‘अब मानिसहरूको हत्या रोक्ने र तुरुन्तै युद्धविराम गर्ने समय आएको छ।’
बुधबार ह्वाइट हाउसमा ट्रम्पले पुटिनको आलोचना गर्दै भने, ‘उनी शान्तिको विषयमा गम्भीर छैनन्।’ नयाँ प्रतिबन्धहरूले समाधानको बाटो खोल्नेमा उनले आशा व्यक्त गरे। ट्रम्पले थपे, ‘मलाई लाग्यो अब समय आएको छ। हामीले धेरै पर्ख्यौं।’ अमेरिकी राष्ट्रपतिले यी प्रतिबन्धहरूलाई महत्वपूर्ण कदम भनेका छन्। यदि रुसले युद्ध रोक्ने निर्णय गर्‍यो भने यी प्रतिबन्ध हटाइनेछन्।
मार्क रुटले पनि अमेरिकाको यो कदमको प्रशंसा गर्दै भने, ‘यो पुटिनमाथि दबाब बढाउने कदम हो।’ यो निर्णय त्यस्तो समयमा आएको हो जब अमेरिका र रुस बीचको शान्ति प्रस्तावमा मतभेद अझ प्रस्ट हुँदै गएका छन्। ट्रम्पका अनुसार मुख्य बाधा रुसको युद्ध रोक्न अस्वीकार गर्नु नै हो।
गत हप्ता मात्र बेलायतले पनि रोसनेफ्ट र लुकोइलमाथि यस्तै प्रतिबन्ध लगाएको थियो। बेलायती अर्थमन्त्री राचेल रिभ्सले भनेकी छन्, ‘विश्व बजारमा रूसी तेलको अब कुनै स्थान छैन।’

About Author

Advertisement