ट्रम्पको दाबीः भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्ने

US_2a07bb

न्युयोर्क: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब इरानबाट होइन, भेनेजुएलाबाट कच्चा तेल खरिद गर्ने दाबी गरेका छन्। शनिबार फ्लोरिडाको पाम बिच जाँदै गर्दा ‘एयर फोर्स वन’ मा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
चीनले भेनेजुएलालाई दिएको ऋण तेल आपूर्तिमार्फत तिर्न सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर दिँदै ट्रम्पले भने, “चीनको स्वागत छ, उसले तेलमा ठूलो सम्झौता गर्न सक्छ। भारत आउँदैछ र उसले इरानको सट्टा भेनेजुएलाको तेल किन्नेछ। कम्तीमा पनि यस सम्झौताको अवधारणा तय भइसकेको छ।”
तर ट्रम्पको यस दाबीबारे नयाँ दिल्लीबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
भारत सन् २०१९ सम्म इरानको प्रमुख तेल खरिदकर्ता थियो। तर अमेरिकाले इरानमाथि पुनः प्रतिबन्ध लगाएपछि भारतले इरानी तेल आयातमा ठूलो कटौती गरेको थियो। ट्रम्पको पछिल्लो अभिव्यक्ति इरान र भेनेजुएलामाथि अमेरिकी प्रतिबन्ध र ती मुलुकबाट तेल नकिन्न ऊर्जा आयातकर्ता देशहरूमा बढ्दो दबाबको सन्दर्भमा आएको हो।
हालका वर्षहरूमा भारतले रुसबाट सहुलियत दरमा कच्चा तेल खरिद उल्लेखनीय रूपमा बढाएको छ, जसका कारण रुस भारतका प्रमुख तेल आपूर्तिकर्तामध्ये एक बनेको छ। अमेरिकाले भारतमाथि कुल ५० प्रतिशतसम्म भन्सार शुल्क लगाएको छ, जसमा रुसी तेल खरिदसँग सम्बन्धित २५ प्रतिशत शुल्क पनि समावेश छ।
मोदी र भेनेजुएलाकी कार्यवाहक राष्ट्रपतिबीच संवाद
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग टेलिफोन वार्ता गरेका छन्। दुवै नेताले द्विपक्षीय सम्बन्धलाई अझ गहिरो र विस्तार गर्ने सहमति जनाएका छन्।
भारतीय विदेश मन्त्रालयका अनुसार व्यापार र लगानी, ऊर्जा, डिजिटल प्रविधि, स्वास्थ्य, कृषि तथा जनस्तरको सम्पर्कलगायत क्षेत्रमा भारत–भेनेजुएला साझेदारीलाई सुदृढ बनाउने विषयमा सहमति भएको छ। साथै, दुवै नेताले क्षेत्रीय तथा वैश्विक मुद्दामा विचार आदान–प्रदान गर्दै ‘ग्लोबल साउथ’ का लागि घनिष्ठ सहकार्यको महत्वमा जोड दिएका छन्।

About Author

Advertisement