नयाँ दिल्ली: मार्च महिनामा भारतीय बक्स अफिसमा ठूलो प्रतिस्पर्धा हुने निश्चित देखिएको छ। कन्नड अभिनेता यशको फिल्म ‘टॉक्सिक’ र रणवीर सिंह अभिनीत हिन्दी फिल्म ‘धुरन्धर २’ यही १९ मार्चमा एकै दिन प्रदर्शनमा आउँदै छन्।
उत्तर भारतमा हल बाँडफाँटबारे अझै स्पष्टता नआए पनि दक्षिण भारतमा भने ‘टॉक्सिक’ले पहिल्यै अग्रता बनाएको छ। फिल्मका निर्माता केभीएन प्रोडक्सन र मोन्स्टर माइन्ड क्रिएसन्सले आन्ध्र प्रदेश र तेलंगानामा ठूलो वितरण सम्झौता गरेका छन्। यस सम्झौताले तेलुगु राज्यमा ‘धुरन्धर २’लाई पछि पारेको विश्लेषण गरिएको छ।
यसअघि ‘धुरन्धर’ फिल्म हिन्दी भाषामै प्रदर्शन हुँदा पनि तेलुगु राज्यहरूमा करिब ६५ करोड रुपैयाँको व्यापार गरेको थियो। यही सफलतालाई आधार मान्दै यसको दोस्रो श्रृंखला ‘धुरन्धर २’ दक्षिण भारतीय भाषामा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ।
यता, यश अभिनीत ‘टॉक्सिक’ दक्षिण भारतीय बजारमा पहिल्यै बलियो पकड बनाइसकेको छ। यसकारण मार्चमा यी दुई फिल्मबीच बक्स अफिसमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।










