झापा–३ मा चुनावी सभाबाट लिङ्देनको अपिल

IMG-20260228-WA0096

साझा उम्मेदवार’का रूपमा समर्थन के माग

झापा: झापा क्षेत्र नम्बर ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राजेन्द्र लिङ्देनले आफू सबैको साझा उम्मेदवार रहेको दाबी गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका उनले १२दशी गाउँपालिका–राजगढ बजारमा भएको सभामा बोल्दै आफूलाई मत दिने मतदाताले कहिल्यै पछुतो गर्न नपर्ने बताएका हुन्।
लिङ्देनले धर्मको रक्षा, सुशासन र भ्रष्टाचारमुक्त राज्य संरचना निर्माणका लागि आफ्नो उपस्थिति संघीय संसद्मा आवश्यक रहेको जिकिर गरे। प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ राप्रपालाई मतदान गरी विजयी गराउन उनले मतदातासँग आग्रह गरे। “हामीलाई मत दिने नागरिकले विषमता भोग्नुपर्ने अवस्था आउँदैन,” उनले भने, “जनताले दिएको विश्वासको सम्मान गर्छौँ।”
पछिल्लो समय भ्रष्टाचारले सीमा नाघेको टिप्पणी गर्दै उनले विभिन्न आन्दोलनमा ‘घुसपैठ’ भएको आरोपसमेत लगाए। कांग्रेस, कम्युनिस्ट तथा नयाँ शक्ति भनिएकाहरू जनअपेक्षा अनुसार काम गर्न नसकेको दाबी गर्दै उनले वर्तमान परिस्थितिमा राप्रपा वैकल्पिक शक्तिका रूपमा अघि बढिरहेको बताए।
सभामा राप्रपाका नेता पुष्पराज पुरुषले हिन्दु राष्ट्रको मुद्दा उठाउँदै लिङ्देनको विजयका लागि आह्वान गरे। हिन्दु धर्म र पहिचानको संरक्षणका लागि उनको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।
झापा–३ मा लिङ्देनको उम्मेदवारीले सुशासन, भ्रष्टाचारविरोधी अभियान र हिन्दु राष्ट्रको एजेन्डालाई केन्द्रमा राख्दै चुनावी बहसलाई तीव्र बनाएको छ।

About Author

Advertisement