काठमाडौंः नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू जोसँग पनि ‘पब्लिक डिबेट’ गर्न तयार रहेको बताएका छन्। बुधवार पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
‘म त पब्लिक डिबेटको लागि तयारै छु,’ प्रचण्डले भने, ‘मैले डिबेट कहिलेदेखि गरेको छु, तपाईँहरूलाई थाहा छ? २६ गते अन्तरिम सरकार बनाउने, २७ गते बन्यो। त्यसपछि यही ठाउँमा पहिलो सार्वजनिक रूपले म प्रस्तुत भएँ।’
जेन–जी आन्दोलनपछि पत्रकार र सम्पादक बोलाएर पहिलो बहस गर्ने नेता पनि आफै भएको प्रचण्डले दाबी गरे। ‘देशव्यापी हिँड्ने काम पनि हामीले ग¥यौँ। त्यस कारण म डिबेटमै छु। जोसँग पनि गर्न तयार छु,’ प्रचण्डले भने।
पछिल्लो समय भावी प्रधानमन्त्री घोषित गरिएका नेताहरूबिच पब्लिक डिबेट चलाउनुपर्ने बहस राजनीतिक वृत्तमा चलिरहेको छ। सोही बहस चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू तयार रहेको बताएका थिए। ओलीले त्यसो भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट प्रधानमन्त्रीका रूपमा अघि सारिएका वरिष्ठ नेता बालेन्द्र साहले ओलीसँग बहस नगर्ने प्रतिक्रिया दिएका थिए। उनले भनेको शैली विवादित छ। जसविरुद्ध निर्वाचन आयोगले नै स्पष्टीकरण सोधेको छ।









