काठमाडौँ: प्रतिनिधिसभा निर्वाचनमा भाग लिने उम्मेदवारले चुनावी खर्चको कारोबारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने भएको छ । निर्वाचन आयोगको अनुरोधमा बैंक तथा वित्तीय संस्थामा खोलिने चुनावी खाताका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन गरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको सीमा र विवरण बुझाउन निर्वाचन आयोगले तोकेको खर्चको हदभित्रै रहेर प्रचारप्रसार, चुनावी अभियान सञ्चालन गर्नुपर्ने व्यवस्था छ । यस्तो खर्च गर्न उम्मेदवारहरूले बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट मात्र कारोबार गर्नुपर्ने उल्लेखछ ।
सोही व्यवस्थाबमोजिम आयोगको सिफारिसमा आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी बैंक खाता सञ्चालनका लागि व्यवस्था गर्न केन्द्रीय बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई भनेको हो ।
आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूको सिफारिसमा आमनिर्वाचन अभियान, समूह वा यस्तै मिल्दो अन्य कुनैका नेपाली मुद्रा (रुपैयाँ पैसा) को आम्दानी खर्च कारोबार गर्नसक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) एवम् स्वतन्त्र उम्मेदवारहरूलाई छुट्टै एउटा (एक मात्र) बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले भनेको छ ।
साथै, केन्द्रीय बैंकले बैंक वा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृक्तिको एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्थामा निर्वाचन आयोगबाट उक्त बैंक खाता बन्द गर्न नलगाउँदासम्म छुट प्रदान गर्न पनि निर्देशन गरेको छ ।










