घुसखोर पण्डित विवादमा मनोज बाजपेयीको सफाइ

IMG-20260206-WA0077

लखनउ: शेक्सपियरले भनेका छन्- ‘नाममा के नै छ र?’ तर यही नामकै कारण अभिनेता मनोज बाजपेयी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको आक्रोशको केन्द्रमा परेका छन्। उनको आउँदै गरेको चलचित्र ‘घुसखोर पण्डित’ को नामलाई लिएर कडा कानुनी विवाद सुरु भएको छ। बुधबार नेटफ्लिक्सले चलचित्रको घोषणा गरेपछि ४८ घण्टाभित्रै निर्माता–निर्देशक कानुनी झमेलामा फसेका हुन्। आरोप लगाइएको छ कि ‘घुसखोर पण्डित’ नामले सम्पूर्ण ब्राह्मण समुदायको अपमान गरेको छ। यही आरोपका आधारमा मुख्यमन्त्री योगी आदित्यनाथले कडा कानुनी कदम चाल्न निर्देशन दिएका थिए। त्यसपछि लखनउमा एफआईआर दर्ता भयो र उत्तर प्रदेशको हजरतगञ्ज प्रहरी थानामा मुद्दा दर्ता गरियो। विवादको बीचमा अब स्वयं मनोज बाजपेयीले मुख खोलेका छन्।
जानकारीअनुसार, ‘घुसखोर पण्डित’ चलचित्रमा अजय दीक्षित नामका पात्रलाई ‘पण्डित’ भनेर चिनाइएको छ, जो वास्तवमा एक भ्रष्ट प्रहरी अधिकारी हुन्। टेबलमुनिबाट घुस लिएर काम सुल्झाउने यस पात्रको भूमिकामा अभिनय गरेर मनोज बाजपेयी विवादमा तानिएका हुन्। चलचित्रको नाम र विषयवस्तुलाई लिएर अहिले तीव्र कानुनी बहस चलिरहेको छ। योगी सरकारको पुलिस प्रशासनले जनाएको छ कि ट्रेलरलाई लिएर व्यापक आपत्ति उठेपछि हजरतगञ्ज थानामा दर्ता एफआईआरका आधारमा मुद्दा दर्ता गरिएको हो। पुलिस स्रोतका अनुसार ट्रेलर सार्वजनिक भएपछि अनलाइनमा तीव्र प्रतिक्रिया देखिएपछि थानाका प्रभारी पुलिस अधिकृत विक्रम सिंहले कानुनी प्रक्रिया अघि बढाएका हुन्। संवेदनशील विषयलाई ध्यानमा राख्दै निर्देशक, निर्माता तथा चलचित्रसँग सम्बन्धित अन्य सदस्यहरूविरुद्ध मुद्दा दर्ता गरिएको बताइएको छ। एक वरिष्ठ पुलिस अधिकृतका अनुसार, यसको उद्देश्य सामाजिक सद्भाव र कानून–व्यवस्था कायम राख्नु हो।
यसपछि क्षति नियन्त्रणका लागि मैदानमा उत्रिए मनोज बाजपेयी। उनले भने, “यस चलचित्रको नामलाई लिएर मानिसहरूको भावना र चिन्तालाई म सम्मान गर्छु र गम्भीरतापूर्वक लिन्छु। तपाईं सहभागी भएको कुनै सिर्जनाले कसैको भावनामा चोट पुर्‍याउँछ भने एकछिन रोकिएर त्यो सुन्नु आवश्यक हुन्छ। अभिनेता भएर कथा र पात्रलाई पर्दामा उतार्नु मेरो जिम्मेवारी हो। तर यस चलचित्रमार्फत कुनै समुदायविरुद्ध सन्देश दिनु हाम्रो उद्देश्य थिएन। नीरज पाण्डेसँग काम गर्दा मैले बुझेको छु, उहाँका चलचित्रमा गम्भीर विषयलाई अत्यन्त संवेदनशीलताका साथ प्रस्तुत गरिन्छ।”
मनोज बाजपेयीले थपे, “जनताको भावनालाई ध्यानमा राख्दै निर्माता पक्षले ‘घुसखोर पण्डित’ सम्बन्धित सबै प्रचार सामग्री, तस्बिर र भिडियो, सामाजिक सञ्जालबाट हटाइसकेको छ। यो कदमले नै संवेदनशील विषयमा हामी कति जिम्मेवार छौँ भन्ने देखाउँछ।”
उल्लेखनीय छ कि बिहीबार नै महेन्द्र चतुर्वेदी नामक व्यक्तिले निर्देशक नीरज पाण्डेको चलचित्रको प्रदर्शन रोक्न दिल्ली उच्च अदालतमा याचिका दर्ता गरेका थिए। यसका कारण बलिउडका विभिन्न फिल्म संगठनहरूको आलोचनाको सामना पनि ‘घुसखोर पण्डित’ का निर्माताहरूले गर्नुपरेको छ। यस विषयमा निर्देशक नीरज पाण्डेले भनेका छन्, “हाम्रो चलचित्र पूर्ण रूपमा काल्पनिक प्रहरी ड्रामा हो। ‘पण्डित’ शब्दलाई पनि एक काल्पनिक पात्रको नामका रूपमा प्रयोग गरिएको हो। यो कथा एक व्यक्तिमा केन्द्रित छ। हाम्रो चलचित्रले कुनै जाति, धर्म वा समुदायको प्रतिनिधित्व गर्दैन।”

About Author

Advertisement